प्रहार समाचार । तनहुँ, २८ भदौ २०८३ आइतबार । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ मा आगामी नेतृत्वका लागि आकांक्षीहरूबीचको दौड तीव्र बन्दै गएका बेला व्यास नगर कार्यसमितिका सभापति सूर्यचन्द्र हड्खलेले क्षेत्रीय सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । नगर तहमा पार्टी संगठनको नेतृत्व गर्दै आएका हड्खलेले अब आफ्नो अनुभव र सक्रियतालाई क्षेत्रीय तहमा विस्तार गर्ने तयारीसहित दाबेदारी अघि सारेका हुन् ।

व्यास नगर क्षेत्रमा कांग्रेसको संगठनलाई चलायमान बनाउन सक्रिय रहँदै आएका हड्खलेले निष्क्रिय कार्यकर्तालाई पुनः सक्रिय बनाउने, युवा तथा नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्ने र स्थानीय तहसम्म संगठन विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखेका छन् । उनले पार्टीभित्र कार्यकर्ताबीचको समन्वय, एकता र विश्वास बलियो बनाउँदै संगठनलाई थप व्यवस्थित र गतिशील बनाउने बताएका छन् । हड्खलेले क्षेत्रीय नेतृत्व पाए संगठनलाई केवल चुनावकेन्द्रित नभई निरन्तर जनतासँग जोडिने अभियानका रूपमा अघि बढाउने दाबी गरेका छन् ।

कार्यकर्ताको समस्या सुन्ने, पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउने तथा स्थानीय तहका मुद्दालाई पार्टीको राजनीतिक एजेन्डासँग जोड्ने उनको योजना छ । लामो समयदेखि कांग्रेसको संगठन निर्माण र कार्यकर्ता परिचालनमा सक्रिय रहेको बताउँदै उनले नेतृत्व अब सबल, सक्षम, अनुशासित र जनताप्रति जिम्मेवार हुनुपर्ने धारणा अघि सारेका छन् ।
हड्खलेले आफ्नो दाबेदारीलाई ‘एकता, विश्वास र परिवर्तन’सँग जोड्दै संगठनलाई एकताबद्ध, अनुशासित र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीभित्र उनलाई दीर्घकालीन अनुभव, सक्रियता, सरल व्यवहार र कार्यकर्तासँगको निरन्तर सम्बन्धलाई आधार बनाएर क्षेत्रीय नेतृत्वमा आउन खोजिरहेका नेताका रूपमा हेरिएको छ । क्षेत्र नं. १ को नेतृत्वका लागि उनको दाबेदारीसँगै तनहुँ कांग्रेसको आगामी आन्तरिक समीकरण थप रोचक बन्ने देखिएको छ ।

















