प्रहार समाचार । काठमाडौं, २७ भदौ २०८३ शनिबार । नेपाली क्रिकेटले फेरि एकपटक एसियाली मञ्चमा आफ्नो दबदबा कायम गरेको छ । युएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको च्याम्पियन बनेको हो । योसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान पक्का गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा आज सम्पन्न फाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो ।नेपालको जितको आधार बलियो बनाउन ओपनर आसिफ शेखले शतकीय पारी खेले । १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै उनले १०२ रन बनाए । गुलशन झाले ५२, अर्जुन कुमालले ४३, कप्तान रोहित पौडेलले ४० तथा दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे । युएईका इबरार अहमदले चार तथा खुजैमा तनवीरले दुई विकेट लिए ।३१४ रनको लक्ष्य पछ्याएको युएई नेपाली बलिङसामु ४९.२ ओभरमै २६८ रनमा समेटियो । राहुल चोपडाले १०० रनमा अविजित रहँदै शतकीय पारी खेले पनि युएईलाई जित दिलाउन सकेनन् ।
शोहैब खानले ५२, तनिश सुरीले ४२ र हरप्रीत सिंहले ३३ रन बनाए । नेपालका करण केसीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए भने सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले समान एक–एक विकेट लिए ।यो नेपालको एसीसी प्रिमियर कपमा दोस्रो उपाधि हो । यसअघि सन् २०२३ को पहिलो संस्करणमा पनि नेपालले फाइनलमा युएईलाई सात विकेटले हराउँदै उपाधि जितेको थियो । सन् २०२४ मा भने युएईले आयोजक ओमानलाई पराजित गर्दै उपाधि उचालेको थियो । लगातार निर्णायक खेलमा युएईमाथि प्रभावशाली प्रदर्शन गर्दै नेपालले उपाधिसँगै एसिया कपको टिकटसमेत हात पारेपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दाबेदारी थप बलियो बनाएको छ ।

















