‘तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सेती नदीमा ठूलो बाँध तथा जलाशय निर्माण भइरहेको छ। आयोजनाको मुख्य बाँध करिब १४० मिटर अग्लो हुने बताइएको छ। आयोजनाले बाढी पूर्वसूचना तथा साइरन प्रणालीसमेत जडान गरेको जनाएको छ। यी प्रयास सकारात्मक छन्। तर यस्ता संवेदनशील संरचनाको सन्दर्भमा पूर्वसूचना प्रणाली जडान गर्नु मात्र पर्याप्त हुँदैन। प्रणाली कति प्रभावकारी छ, आपत्कालीन अवस्थामा कति छिटो सूचना प्रवाह हुन्छ र त्यसपछि नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने संयन्त्र कति तयार छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यहि भदौ १० गते गएहो भोटेकोशी नदीमा आएको बिनासकारी बाढीबाट पाठ सिकौँ।’ भन्दै कविराज श्रेठ लेख्छन् :

भोटेकोशीको अप्रत्याशित एवम् अकल्पनिय भिषण बढीको कहरले हामी सबैलाई एउटा गम्भीर प्रश्नतर्फ सोच्न बाध्य बनाएको छ—विकासका ठूला आयोजना निर्माण भइरहँदा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको पूर्वानुमान, मूल्याङ्कन र व्यवस्थापनमा हामी कति संवेदनशील छौँ? यो प्रश्न कुनै आयोजना वा निकायलाई दोषारोपण गर्ने उद्देश्यले उठाइएको होइन। बरु, सम्भावित जोखिमप्रति समयमै सचेत हुँदै नागरिकको जीवन र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकतालाई उजागर गर्नका लागि हो।

तनहुँ जलविद्युत् आयोजना हाम्रो जिल्लाको विकास, समृद्धि र मुलुकको ऊर्जा सुरक्षासँग जोडिएको महत्वपूर्ण राष्ट्रिय आयोजना हो। यस आयोजनाको सफलताप्रति तनहुँवासी मात्र होइन, समग्र नेपाली समाज नै सकारात्मक र आशावादी छ। ठूलो लगानीमा निर्माण भइरहेको यस्ता आयोजना जिल्लाको आर्थिक तथा सामाजिक रूपान्तरणका महत्वपूर्ण आधार बन्न सक्छन्। तर विकाससँगै त्यसबाट भविष्यमा उत्पन्न हुन सक्ने सम्भावित जोखिम र चुनौतीप्रति पनि समयमै सचेत हुनु हाम्रो साझा जिम्मेवारी हो। तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सेती नदीमा ठूलो बाँध तथा जलाशय निर्माण भइरहेको छ। आयोजनाको मुख्य बाँध करिब १४० मिटर अग्लो हुने बताइएको छ। आयोजनाले बाढी पूर्वसूचना तथा साइरन प्रणालीसमेत जडान गरेको जनाएको छ। यी प्रयास सकारात्मक छन्। तर यस्ता संवेदनशील संरचनाको सन्दर्भमा पूर्वसूचना प्रणाली जडान गर्नु मात्र पर्याप्त हुँदैन। प्रणाली कति प्रभावकारी छ, आपत्कालीन अवस्थामा कति छिटो सूचना प्रवाह हुन्छ र त्यसपछि नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने संयन्त्र कति तयार छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
विशेषगरी अत्यधिक वर्षा, आकस्मिक बाढी, पहिरो, भौगोलिक अस्थिरता, प्राविधिक समस्या वा अन्य कुनै भवितव्य परिस्थिति उत्पन्न हुँदा दमौली बजार तथा सेती नदी आसपासका बस्तीमा कस्तो प्रभाव पर्न सक्छ ? भन्ने विषयमा गम्भीर प्राविधिक र वैज्ञानिक अध्ययन आवश्यक छ। स्थानीयवासीको मनमा रहेका आशंका र चिन्तालाई बेवास्ता गर्नु हुँदैन। नागरिकलाई ‘जोखिम छैन’ भनेर आश्वस्त पार्नु मात्र पर्याप्त हुँदैन। जोखिम भएमा त्यसको स्तर कति हो ? जोखिम उत्पन्न हुँदा नागरिकले के गर्नुपर्छ ? पूर्वसूचना कति समयअघि प्राप्त हुन्छ ? सूचना कसरी र कुन माध्यमबाट प्रवाह हुन्छ ? सुरक्षित स्थान कहाँ छन् ? कुन बाटोबाट सुरक्षित स्थानमा पुग्ने ? उद्धारका लागि आवश्यक जनशक्ति र साधन कति तयारी अवस्थामा छन् ?—यी प्रश्नको स्पष्ट जवाफ नागरिकले पाउनुपर्छ। यसका लागि सम्भावित विपद्को अवस्था परिकल्पना गरी आपत्कालीन कार्ययोजना तयार पारिनुपर्छ। उक्त कार्ययोजना कागजमा मात्र सीमित नराखी स्थानीयवासीलाई जानकारी गराइनुपर्छ र समय–समयमा उद्धार तथा सुरक्षित स्थानान्तरणको अभ्याससमेत गरिनुपर्छ।
हामी विकासको विरोधमा छैनौँ। हामी सुरक्षित, पारदर्शी र जिम्मेवार विकासको पक्षमा छौँ। त्यसैले तनहुँ जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरण, स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय तथा सम्बन्धित विषयका विज्ञहरूबीच प्रभावकारी समन्वय आवश्यक छ। दमौली बजार तथा सेती नदी आसपासका बस्तीको सम्भावित जोखिमको नियमित मूल्याङ्कन, संरचनाको अनुगमन, पूर्वसूचना प्रणालीको परीक्षण, उद्धार अभ्यास र जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्छ। विशेषगरी नदी किनारमा बसोबास गर्ने नागरिकलाई विपद्को अवस्थामा अपनाउनुपर्ने सावधानी र सुरक्षित स्थानबारे स्पष्ट जानकारी दिनुपर्छ। विद्यालय, टोल विकास संस्था, आमा समूह, युवा क्लब, सामाजिक संस्था र स्थानीय समुदायलाई समेत विपद् पूर्वतयारीमा सहभागी गराउनुपर्छ। किनकि विपद् आएपछि उद्धार गर्नेभन्दा विपद् आउनुअघि त्यसको जोखिम न्यूनीकरण गर्नु बुद्धिमानी हो।
आज गरिएको एउटा सानो सावधानीले भोलिको ठूलो क्षति रोक्न सक्छ। आज गरिएको एउटा वैज्ञानिक अध्ययनले भोलि हुन सक्ने ठूलो मानवीय क्षतिबाट समाजलाई जोगाउन सक्छ। र आज नागरिकलाई दिइएको सही सूचना तथा तालिमले आपत्कालीन अवस्थामा धेरैको जीवन बचाउन सक्छ।त्यसैले आजको दुःखद घटनालाई केवल क्षणिक बहस वा आरोप–प्रत्यारोपमा सीमित नगरौँ। यसबाट पाठ सिकौँ। सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गरौँ। त्यसको वास्तविक अवस्था नागरिकसामु पारदर्शी रूपमा प्रस्तुत गरौँ। जोखिम न्यूनीकरणका उपायलाई संस्थागत गरौँ।
दमौली र आसपासका बस्तीको सुरक्षा कुनै एक व्यक्ति, संस्था वा निकायको मात्र जिम्मेवारी होइन। यो सबैको साझा दायित्व हो। हामीलाई विकास चाहिन्छ। ऊर्जा चाहिन्छ। समृद्धि चाहिन्छ। तर विकाससँगै नागरिकको जीवन र सुरक्षा पनि सुनिश्चित हुनुपर्छ। तनहुँ जलविद्युत् आयोजना हाम्रो गौरव बन्नुपर्छ—डर र आशंकाको कारण होइन। त्यसका लागि आयोजना निर्माणसँगै जोखिम न्यूनीकरण, पूर्वसूचना, पारदर्शिता र नागरिक सुरक्षालाई पनि समान प्राथमिकता दिनुपर्छ। विकास रोक्ने होइन, विकासलाई सुरक्षित बनाउने अभियान आजैबाट सुरु गरौँ। दमौलीको सुरक्षा र भविष्यप्रति आजै गम्भीर बनौँ।
• ( श्रेष्ठ मानव अधिकार एलायन्स तनहुँका अध्यक्ष हुन् ।) सम्पादक
















