हेडलाईनसमाचारबागमती

भोटेकोशी बाढीको कहर : ६ सय २६ को मृत्यु, २ हजार ४ सय २६ बेपत्ता; १५ हजारभन्दा बढी सुरक्षाकर्मी खोजीमा परिचालन

प्रहार समाचार । काठमाडौं, १३ भदौ २०८३ शनिबार । यहि भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले देशलाई शोकमा डुबाएको छ। बाढी र त्यसबाट सिर्जित विपद्मा परी विभिन्न जिल्लामा ६ सय २६ जनाको मृत्यु भइसकेको छ भने अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन्। हजारौँ परिवार आफन्तको अवस्थाबारे अनिश्चिततामा रहेका बेला सरकारले बेपत्ताको खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान १० बजेसम्म चितवनमा २ सय ३३, नवलपरासी पूर्वमा १ सय ५८, मकवानपुरमा ६५, नुवाकोटमा ५१, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ। तर विपद्को वास्तविक तस्वीर अझै भयावह देखिएको छ। मृतकको संख्या ६ सय २६ पुगिसक्दा पनि २ हजार ४ सय २६ जनाको अवस्था अज्ञात छ।

बाढी प्रभावित क्षेत्रमा खोजी जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने चिन्ता छ।जलविद्युत् आयोजनादेखि सीमावर्ती क्षेत्रसम्म बेपत्ताको ठूलो संख्यासम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९ सय ३३ जना, रसुवाका ५ सय ६२ जना र नुवाकोटका १ सय १५ जना छन्। त्यस्तै ५ सय १७ विदेशी नागरिक र विदेशमा रहेका १ सय २७ नेपाली नागरिकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना तथा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना पनि सम्पर्कविहीन छन्। ४ हजार ४ सय ५१ जनाको उद्धार, खोजीमा १५ हजार सुरक्षाकर्मीसरकारले विपद्को सुरुवातसँगै उद्धारलाई प्राथमिकतामा राखेको जनाएको छ। हालसम्म ४ हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ।

बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार २२४ सुरक्षाकर्मी परिचालन गरिएको छ।उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएका छन्। ती हेलिकप्टरबाट हालसम्म ९९ वटा हवाई उडान भइसकेका छन्। उद्धार गरिएका विदेशी नागरिकको संख्या १ सय २९ पुगेको छ। बाढीमा घाइते भएका १ सय १ जना विभिन्न अस्पतालमा उपचाररत छन्। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ। १ सय ९५ टेलिफोन टावरमा क्षति, १ सय ४५ सञ्चालनमाबाढीले भौतिक संरचनासँगै सञ्चार पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्राधिकरणका अनुसार १ सय ९५ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १ सय ४५ वटा सञ्चालनमा ल्याइएको छ। सञ्चार तथा विद्युत् सेवा पुनःस्थापना, अवरुद्ध सडक सञ्चालन र प्रभावित नागरिकसम्म राहत पुर्‍याउने कामलाई पनि समानान्तर रूपमा अघि बढाइएको छ। करोडौँको राहत, दर्जनौँ ट्रक सामग्री प्रभावित क्षेत्रमासरकारले बाढी प्रभावित जिल्लामा तत्काल राहतका लागि नगदसमेत पठाएको छ।

रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। १५ वटा पालिकालाई समेत ६ करोड ७५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ। त्यसैगरी ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। हेलिकप्टरबाट सातवटा उडानमार्फत समेत खाद्य तथा गैरखाद्य सामग्री पुर्‍याइएको छ।प्रभावित नागरिकका लागि टेन्ट, कम्बल, सोलार ल्याम्प, बाल्टिन, म्याट्रेस, स्लीपिङ ब्याग, डोरी, जेनेरेटरलगायत अत्यावश्यक सामग्री पठाइएको छ।इन्धन अभाव हुन नदिन मौज्दातको व्यवस्थाविपद्पछि प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन नुवाकोटका विभिन्न आयल स्टोरमा डिजेल तथा पेट्रोल मौज्दात राखिएको छ। प्रभावित क्षेत्रका लागि थप डिजेल र पेट्रोलसमेत पठाइएको प्राधिकरणले जनाएको छ।

चुनौती अब शव खोज्नु मात्र होइन, हजारौँ बेपत्ताको अवस्था पत्ता लगाउनुभोटेकोशी बाढीले निम्त्याएको विपद्को सबैभन्दा गम्भीर पक्ष मृत्युको ठूलो संख्या मात्र नभई हजारौँ मानिस अझै सम्पर्कविहीन हुनु हो। उद्धार गरिएका नागरिकको संख्या बढ्दै गए पनि २ हजार ४ सय २६ जनाको अवस्था अझै अज्ञात रहनुले विपद्को गम्भीरता प्रस्ट पार्छ। सरकारका लागि अहिलेको मुख्य चुनौती बेपत्ताको यथार्थ अवस्था पत्ता लगाउनु, सम्भावित जीवितको तत्काल उद्धार गर्नु, घाइतेको उपचार सुनिश्चित गर्नु र घरबारविहीन परिवारसम्म राहत पुर्‍याउनु बनेको छ। १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भए पनि दुर्गम भूगोल, क्षतिग्रस्त सडक, सञ्चार अवरोध र बाढीले पुर्‍याएको व्यापक विनाशका कारण खोजी तथा उद्धार अभियान अझै कठिन बनेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button