प्रहार समाचार । काठमाडौं, १४ भदौ २०८३ आइतबार। चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको आर्थिक सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ। आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले २० लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३० करोड रुपैयाँ बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले चीनले उक्त रकम उपलब्ध गराएको हो। सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले विपद्को कठिन समयमा नेपाल र नेपाली जनताप्रति चीनको ऐक्यबद्धता रहेको सन्देश दिएका छन्।यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोगसमेत राजदूत माओमिङले अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका छन्।
दुवै सहयोग रकम बाढीबाट प्रभावित नागरिकको राहत तथा आवश्यक मानवीय सहयोगमा उपयोग गरिने जनाइएको छ।चीन सरकार र चिनियाँ रेडक्रसबाट प्राप्त गरी कुल २२ लाख अमेरिकी डलर अर्थात् ३३ करोड रुपैयाँभन्दा बढीको सहयोगले विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो बाढीबाट ठूलो जनधनको क्षति व्यहोरेको नेपाललाई छिमेकी चीनबाट प्राप्त यो सहयोगले विपद्का बेला दुई देशबीचको मानवीय सहकार्यलाई थप बलियो बनाएको छ।
















