प्रहार समाचार । तनहुँ, १३ भदौ २०८३ शनिबार । रसुवाको टिमुरे क्षेत्रमा गएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा खटिने नेपाली सेनाको टोलीलाई भानु नगरपालिकाले आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराएको छ। भानु नगरपालिका–१ स्थित भद्र दल गणबाट रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि प्रस्थान गर्न लागेको सेनाको टोलीलाई नगरपालिकाले मास्क, पन्जा, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

बाढी तथा पहिरोका कारण रसुवामा ठूलो जनधनको क्षति भएपछि भानु नगरपालिकाले स्थानीयस्तरबाट समेत आवश्यक सहयोग र समन्वयलाई तीव्रता दिएको जनाएको छ। नगरपालिकाले भदौ ११ गतेदेखि नै सूचना सम्प्रेषण तथा सम्पर्कको काम अघि बढाउँदै हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूको तथ्यांक संकलन गरिरहेको छ। साथै, प्रभावित तथा सम्पर्कविहीन व्यक्तिका सम्बन्धमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल भइरहेको नगरपालिकाले जनाएको छ। नगर प्रमुख आनन्दराज त्रिपाठीले विपद्को यस दुःखद घडीमा रसुवाका बाढी प्रभावित नागरिकसँगै भानु नगरवासीसमेत प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले घटनाबाट प्रभावित सम्पूर्ण नेपाली तथा भानुवासीको कुशलताको कामना गर्दै विपद्को सामना गर्न नगरपालिकाले आफ्नो तर्फबाट आवश्यक साथ, सहयोग र समन्वय निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।यसैबीच, नगर प्रमुख त्रिपाठीले विपद्को समयमा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, संघ–संस्था तथा सम्पूर्ण नगरवासीलाई एकताबद्ध भएर सक्दो सहयोगमा जुट्न अपिल गरेका छन्। उनले रसुवामा भएको क्षतिलाई सिंगो मुलुककै पीडाका रूपमा लिएर उद्धार, राहत तथा पुनःस्थापनाका अभियानमा मानवीय भावनासहित सहभागी हुन आग्रह गरेका छन्।
















