हेडलाईनसमाचारभानुगण्डकीमनोरञ्जन

तनहुँको पुर्कोटगढीको ऐतिहासिक विरासत जोगाउने अभियान, दशैँमा फूलपाती परम्परादेखि सांस्कृतिक कार्यक्रमसम्म

प्रहार समाचार । तनहुँ, २८ असोज २०८३ बुधबार । पुर्खाको इतिहास, धार्मिक आस्था र मौलिक संस्कृतिको धरोहर तनहुँको पुर्कोटगढीको पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले श्री कोटघर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिले बडादशैँका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

भानु नगरपालिका–७, ८ र ९ को शिरमा अवस्थित पुर्कोटगढी तथा पुर्कोट कालिका क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्व उजागर गर्न धार्मिक अनुष्ठान, खुला दौड प्रतियोगिता, परम्परागत खेलकुद र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जानकारी समितिका अध्यक्ष पुकार गुरुङले पत्रकार सम्मेलनमार्फत दिएका छन्।

गोरखाको राजपरम्परासँग ऐतिहासिक सम्बन्ध जोडिएको पुर्कोटगढी स्थानीय जनश्रुतिअनुसार गोरखाका राजा पृथ्वीपति शाहका छोरा वीरभद्र शाहको तनहुँकी राजकुमारीसँग विवाह भएपछि पुर्कोटसँग राजपरिवारको सम्बन्ध जोडिएको मानिन्छ। वीरभद्र शाहकी गर्भवती रानी माइतीमा बस्दा पुर्कोटमा नरभूपाल शाहको जन्म भएको र उनलाई डोलामा राखेर गोरखा दरबार पुर्‍याइएको परम्परासमेत प्रचलित छ। यद्यपि, यी ऐतिहासिक मान्यतालाई प्रमाणित गर्न पुराना अभिलेख, दस्तावेज र अनुसन्धान आवश्यक रहेको छ। पुर्कोटको अर्को विशिष्ट पहिचान बडादशैँमा यहाँबाट गोरखाको कालिका मन्दिरमा फूलपाती लैजाने परम्परा हो।

समितिका अनुसार असोज ३० गते शुक्रबार बिहान ५ बजे फूलपातीसम्बन्धी विशेष धार्मिक कार्यक्रम आयोजना गरिनेछ। ‘बाष्टे’ परम्परा र मौलिक संस्कृतिको संरक्षणमा जोड पुर्कोटगढीमा नवरात्रका बेला प्रचलित ‘बाष्टे’ बस्ने परम्परालाई पनि समितिले महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा अघि सारेको छ। यस अभ्यासमा अखण्ड ज्योति बाल्ने, व्रत बस्ने, देवीदेवतासँग सम्बन्धित सामग्री विधिपूर्वक राख्ने तथा मर्स्याङ्दी नदीमा स्नान गरी सामग्री कोटगढी ल्याउने चलन रहेको छ। पहिले सरकारी स्रोतबाट खर्च व्यवस्थापन हुने गरेकोमा उक्त व्यवस्था बन्द भएपछि स्थानीय समुदायले नै खर्च बेहोर्दै आएको र परम्पराको अवधि पनि छोटिएको विवरण सार्वजनिक गरिएको छ। फूलपाती र ‘बाष्टे’ परम्पराको उत्पत्ति, विधि, मौखिक इतिहास तथा समयक्रममा आएका परिवर्तन अभिलेखीकरण गरी भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा समितिले जोड दिएको छ।

(विज्ञापन)

खुला दौड, परम्परागत खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिका अनुसार असोज ३१ गते शनिबार बिहान ७ बजे सत्तलस्थित मुक्तेश्वर महादेव मन्दिरबाट सुरु हुने खुला दौड प्रतियोगिता लोब्रक, गैँडेपानी, थापा गाउँ र चन्दनी हुँदै पुर्कोटगढीको कोटघरमा पुगेर सम्पन्न हुनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। आमा समूहका लागि म्युजिकल चियर तथा बाबा समूहका लागि घैँटो फुटाइ प्रतियोगितासमेत आयोजना गरिनेछ। प्रतियोगितापछि कोटघर, चन्दनीमा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, लोकसङ्गीत तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन्।

(विज्ञापन)

यी गतिविधिमार्फत स्वास्थ्य सचेतना, सामुदायिक एकता, स्थानीय पर्यटन र पुर्कोटगढीको ऐतिहासिक पहिचान प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।उत्सवसँगै दीर्घकालीन संरक्षण योजना बनाउन समितिको आग्रह पुर्कोटगढी, पुर्कोट कालिका मन्दिर तथा आसपासका सम्पदाको संरक्षण, स्थानीय इतिहास र जनश्रुतिको अनुसन्धान, धार्मिक पर्यटन तथा प्राकृतिक पदयात्राको विकास समितिका प्रमुख प्राथमिकता हुन्। यसका लागि सम्पदाको सूचीकरण, मौखिक इतिहासको अभिलेखीकरण, पुरातात्त्विक अध्ययन, स्रोत व्यवस्थापन र सरकारी निकायसँगको समन्वय आवश्यक रहेको समितिको भनाइ छ।

अध्यक्ष गुरुङले स्थानीयवासी, देश–विदेशमा रहेका पुर्कोटवासी, इतिहासप्रेमी, समाजसेवी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सम्बन्धित सरकारी र गैरसरकारी निकायलाई संरक्षण अभियानमा साथ दिन आग्रह गरेका छन्। पुर्कोटगढीको ऐतिहासिक महत्वलाई स्थानीय उत्सवमा मात्र सीमित नराखी अनुसन्धान, प्रमाण र संस्थागत सहकार्यका आधारमा राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्नेमा समितिले जोड दिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button