हेडलाईनसमाचारगण्डकी

लमजुङ कांग्रेस देउवा समूहको शक्ति प्रदर्शन, सभापतिमा चिलुवाल निर्विरोध

• विजय अधिकारी (संवाददाता) लमजुङ, १२ मंसिर २०८३ शनिबार । नेपाली कांग्रेस देउवा समूहको १५औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले सभापतिमा गणेश चिलुवाललाई निर्विरोध निर्वाचित गरेको छ।

त्यस्तै उपसभापतिमा रामकृष्ण त्रिपाठी र नवराज पौडेल तथा सचिवमा सुशीलचन्द्र अधिकारी र मदनसिंह घिमिरे निर्विरोध चयन भएका छन्।

नेतृत्व चयनसँगै लमजुङ कांग्रेसमा देउवा समूहको संगठनात्मक प्रभाव र आगामी राजनीतिक रणनीतिबारे नयाँ बहस सुरु भएको छ। अधिवेशन उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीलाई कमजोर बनाउन देशभित्र र बाहिर अदृश्य शक्ति सक्रिय रहेको दाबी गरे। कांग्रेस कमजोर भए लोकतन्त्र नै संकटमा पर्ने भन्दै उनले नेता–कार्यकर्तालाई सचेत रहन आग्रह गरे। भण्डारीले संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको पक्षमा समेत धारणा राखे ।

महाधिवेशनको पक्षमा देखिएको उल्लेख्य उपस्थिति र देउवा समूहको सक्रियताले लमजुङ कांग्रेसभित्रको शक्ति सन्तुलनमा नयाँ संकेत गरेको छ। अधिवेशनबाट नेतृत्व चयन हुनु गुटगत प्रतिस्पर्धाको अन्त्यभन्दा पनि आगामी दिनमा पार्टीभित्र आफ्नो प्रभाव स्थापित गर्ने राजनीतिक दौडको सुरुवातका रूपमा हेरिएको छ। अब निर्वाचित नेतृत्वका सामु गुटगत दूरी घटाउने, असन्तुष्ट पक्षलाई समेट्ने र संगठनलाई एकताबद्ध बनाउने चुनौती खडा भएको छ।

जिल्ला संयोजक रामकृष्ण कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य पुष्प पराजुली, तनहुँ जिल्ला सभापति प्राडा. कृष्ण प्रसाद गौतमलगायतले धारणा राखेका थिए।

जिल्ला कार्यसमितिलाई छिट्टै पूर्णता दिइने नवनिर्वाचित उपसभापति रामकृष्ण त्रिपाठीले जानकारी दिए।

नयाँ नेतृत्वसँगै लमजुङ कांग्रेसमा देउवा समूह थप निर्णायक बन्ने राजनीतिक विश्लेषण भइरहेका बेला त्यसलाई संगठनात्मक एकता र चुनावी प्रभावमा बदल्न सक्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button