प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८३ शनिबार । भारतको प्रयागराजस्थित श्री १०८ बाघम्बरी पीठाधीश्वर तथा प्रसिद्ध बड़े हनुमान मन्दिरका महन्त बलवीर गिरिजी महाराजले तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको दर्शन तथा अवलोकन गरेका छन्।

भारतीय धार्मिक क्षेत्रका प्रतिष्ठित सन्त महन्त गिरिजी महाराजको ढोरबाराही आगमनलाई धार्मिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। उनीसँगै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित पनि मन्दिर पुगेका थिए। प्राकृतिक सौन्दर्यले घेरिएको ढोरबाराही मन्दिर हिन्दु धर्मावलम्बीहरूको गहिरो आस्थाको केन्द्रका रूपमा परिचित छ। मन्दिर परिसरमा रहेको कुण्डमा बेलाबेलामा एक्कासि पानीको लहरी उठ्ने विशिष्ट प्राकृतिक विशेषताले यसलाई अन्य धार्मिक स्थलभन्दा फरक पहिचान दिएको छ। स्थानीय जनविश्वासअनुसार उक्त लहरीलाई ढोरबाराही माताको दैवी शक्तिसँग जोडेर हेर्ने गरिन्छ।

हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको यस मन्दिरमा दर्शन, पूजाआराधना र भाकल गर्न देशका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन्। धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको ढोरबाराही मन्दिरमा भारतका प्रतिष्ठित धार्मिक व्यक्तित्वको आगमनले यसको धार्मिक पहिचान र व्यापक प्रचारप्रसारमा थप महत्व राख्ने अपेक्षा गरिएको छ। नेपालको धार्मिक सम्पदालाई अन्तर्राष्ट्रिय आध्यात्मिक जगत्सँग जोड्न यस्ता भ्रमणले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। आस्थाको धरोहरका रूपमा रहेको ढोरबाराहीलाई केवल स्थानीय धार्मिक स्थलमा सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ।











