हेडलाईनसमाचारबागमती

धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको ५० मिटर सडक त्रिशूलीले बगायो, यातायात पूर्ण ठप्प

प्रहार समाचार । चितवन, १४ भदौ २०८३ आइतबार । त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर नजिकै करिब ५० मिटर सडक बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नदीले सडकको तल्लो भागबाट तीव्र रूपमा कटान गरेपछि सडक बगेको हो ।

कतिपय स्थानमा सडक पाँच मिटरसम्म कटान भएको र अन्य भागसमेत चिरिएकाले थप भासिने जोखिम रहेको पृथ्वी राजमार्ग निर्माण आयोजनाका मुग्लिनस्थित इन्जिनियर धिरज ढकालले जानकारी दिए। सडक बगेपछि पृथ्वी राजमार्ग तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेको आयोजनाले जनाएको छ । ढकालका अनुसार राजमार्ग खुलाउन बगेकै स्थानमा ‘टो वाल’ निर्माण गरी सडक पुनः सञ्चालन गर्नुपर्ने देखिएको छ ।

कृष्णभीरमा विगतदेखि नै पहिरोको जोखिम रहेकाले वैकल्पिक रूपमा डाइभर्सन निर्माण गर्न कठिन हुने उहाँको भनाइ छ । सडक पुनः सञ्चालनका लागि काम अघि बढाइए पनि तत्कालै राजमार्ग खुल्ने अवस्था नरहेको बताइएको छ । राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले काठमाडौँतर्फ जाने यात्रुलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन् । त्रिशूलीको कटानले सडकको ठूलो भाग नै बगाएपछि काठमाडौँ–पोखरा आवागमनमा समेत थप समस्या उत्पन्न भएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button