हेडलाईनसमाचारबागमती

त्रिशूलीको बाढीले घ्याल्चोक–चरौँदी जोड्ने झोलुङ्गे पुल बगायो, ४ सय घरधुरीको आवतजावत प्रभावित

प्रहार समाचार । गोरखा, १४ भदौ २०८३ आइतबार । त्रिशूली नदीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गअन्तर्गत चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ। बाढीले करिब तीन घण्टासम्म निरन्तर प्रहार गरेपछि बिहान ११ः३० बजेतिर १३० मिटर लामो झोलुङ्गे पुल ढलेर नदीमा बगेको स्थानीय विनोद नहर्कीले जानकारी दिए।

पुल बगेपछि घ्याल्चोकसहित आसपासका बासिन्दाको राजमार्गतर्फको सहज आवतजावत टुटेको छ।पुल गुमेसँगै गण्डकी गाउँपालिका–७ र ८ का स्थानीयलाई त्रिशूली नदी वारपार गर्न समस्या भएको छ। विशेषगरी घ्याल्चोकका करिब ४ सय घरधुरी किसानले उत्पादन गरेको तरकारी र दूध चरौँदीस्थित कृषि सहकारीमा बिक्रीका लागि लैजाने मुख्य बाटो यही पुल थियो। पुल बगेपछि कृषि उपज बजारसम्म पुर्‍याउन नसक्ने अवस्था आएको स्थानीयको भनाइ छ। “यो किसानका लागि बजार जाने मुख्य बाटो थियो, पुल बगेपछि तरकारी र दूध बिक्री गर्नै समस्या हुने भयो,” नहर्कीले भने।

यसअघि गत भदौ १० गते बुधबार आएको बाढीले घ्याल्चौकभन्दा केही तल रहेको धवादीघाटको झोलुङ्गे पुलसमेत बगाएको थियो। धवादीघाटको पुल बगेपछि स्थानीयवासीले घ्याल्चोक–चरौँदी जोड्ने पुल प्रयोग गर्दै त्रिशूली वारपार गर्दै आएका थिए। अहिले यही पुलसमेत बाढीले लगेपछि स्थानीयवासी थप समस्यामा परेका छन्। अर्का स्थानीय विजय रूपखेतीका अनुसार एकपछि अर्को पुल बग्दा नदी वारपार गर्ने वैकल्पिक बाटोसमेत कठिन बनेको छ।

स्थानीयका अनुसार घ्याल्चोक–चरौँदी जोड्ने झोलुङ्गे पुल छ वर्षअघि मात्र निर्माण गरिएको थियो। पछिल्लो बाढीसँगै त्रिशूली नदीले गोरखामा तीन वटा झोलुङ्गे पुल बगाइसकेको छ भने अर्को एउटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएको छ। पटक–पटकका बाढीले नदी किनारका बस्ती, कृषि उत्पादन र स्थानीय आवतजावतमा प्रत्यक्ष असर पुर्‍याएपछि जोखिमयुक्त क्षेत्रमा रहेका पुल तथा पूर्वाधारको दिगो संरक्षण र वैकल्पिक आवतजावतको व्यवस्था गर्न स्थानीयले माग गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button