हेडलाईनसमाचारगण्डकी

नारायणीमा भेटिएका २ सय २७ शव अझै बेवारिसे, डीएनए नमुनापछि वनमा व्यवस्थापन गरिँदै

प्रहार समाचार । चितवन, १३ भदौ २०८३ शनिबार । भोटेकोशी बाढीपछि नारायणी नदीमा भेटिएका पहिचान नखुलेका शव व्यवस्थापनका लागि देवघाट क्षेत्रको वनमा लैजान थालिएको छ। चितवनमा हालसम्म बाढीमा परेका २ सय ३३ वटा शव फेला परे पनि ६ जनाको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ। पहिचान नखुलेका शवलाई प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गर्न लागिएको हो।

पहिलो चरणमा चार वटा शव शववाहनमार्फत देवघाट क्षेत्रमा रहेको वनमा लगिएको छ। बाँकी शवलाई पनि क्रमशः त्यहाँ लैजाने तयारी गरिएको छ। शव व्यवस्थापनअघि प्रत्येक शवबाट डीएनए नमुना संकलन गरी छुट्टाछुट्टै ट्याग लगाएर अभिलेख राखिने प्रहरीले जनाएको छ।प्रहरीका अनुसार हाल २ सय २७ वटा शवको पहिचान हुन बाँकी छ। शवबाट संकलित डीएनए नमुना सुरक्षित राखिने भएकाले भविष्यमा परिवारका सदस्यसँग डीएनए परीक्षण गर्दा मिलान भएमा सम्बन्धित परिवारले शव निकालेर लैजान सक्ने व्यवस्था गरिनेछ।

यसले पहिचान हुन नसकेका मृतकका परिवारलाई पछि कानुनी तथा वैज्ञानिक प्रक्रियाबाट आफ्ना आफन्तको पहिचान गर्ने बाटो खुला राख्नेछ।भोटेकोशी बाढीले निम्त्याएको मानवीय क्षतिको गहिराइ नारायणी नदीमा भेटिएका शवको संख्याले समेत देखाएको छ। ठूलो संख्यामा शव फेला परे पनि अधिकांशको पहिचान हुन नसक्दा परिवारजन अझै आफन्तको खोजीमा छन्। डीएनए नमुना र व्यवस्थित अभिलेखसहित शव व्यवस्थापन गर्ने प्रक्रियाले मृतकको पहिचान र परिवारलाई अन्तिम संस्कारको अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button