प्रहार समाचार । तनहुँ, ११ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक सरगर्मी बढिरहेका बेला तनहुँ क्षेत्र नं. २ बाट जनजाति महिला तर्फ ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएकी छन्।

पार्टी संगठन र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय थापाले महिला तथा जनजाति समुदायको प्रतिनिधित्वलाई पार्टीको निर्णय तहमा थप प्रभावकारी बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेकी हुन्। स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकाको उपाध्यक्षमा लगातार दोस्रोपटक निर्वाचित थापासँग जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव छ। उपाध्यक्षका रूपमा रहँदा स्थानीय विकास, महिला सहभागिता तथा सामाजिक क्षेत्रका विभिन्न विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले पार्टी संगठनलाई व्यक्ति केन्द्रित नभई कार्यकर्ता र जनतामुखी बनाउनुपर्नेमा जोड दिएकी छन्।

‘राजनीति सेवा हो, सत्ताको साधन होइन’ भन्ने बीपी कोइरालाको आदर्शलाई आत्मसात गर्दै कांग्रेसको संगठनलाई थप सुदृढ र जनमुखी बनाउने उनको प्रतिबद्धता छ।नयाँ पुस्तादेखि पुरानो पुस्तासम्मका नेता तथा कार्यकर्तासँग निरन्तर संवाद र सहकार्य गर्दै आएकी थापाले पुस्तान्तरणसँगै अनुभव र नयाँ ऊर्जाबीच समन्वय आवश्यक रहेको बताएकी छन्।
महिला तथा जनजाति समुदायको आवाज पार्टीको निर्णय तहसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ। तनहुँ क्षेत्र नं. २ बाट जनजाति महिला तर्फ उनको उम्मेदवारीसँगै कांग्रेसभित्र महिला नेतृत्व, जनजाति प्रतिनिधित्व र संगठन सुदृढीकरणको विषयसमेत चर्चामा आएको छ।





















