• विजय अधिकारी (संवाददाता)लमजुङ, ११ असोज२०८३ आइतबार ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट श्रमिक क्लस्टरतर्फ ट्रेड युनियन कांग्रेस लमजुङका अध्यक्ष तीर्थ तिवारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन्।

मध्यनेपाल नगरपालिका–३ सोतिपसल निवासी तिवारीले लामो समयको शिक्षण, ट्रेड युनियन आन्दोलन र सामाजिक क्षेत्रमा गरेको अनुभवलाई पार्टीको नीति तथा निर्णय तहसँग जोड्ने दाबी गर्दै उम्मेदवारी अघि सारेका हुन्। ‘श्रमिकको अधिकार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित मैदानमा उत्रिन लागेका तिवारीले श्रमिक वर्गको प्रतिनिधित्व पार्टीभित्र अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

२०४९ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका तिवारी त्यसयता निरन्तर क्षेत्रीय प्रतिनिधिका रूपमा रहँदै आएका छन्। २०५३ सालमा नेपाल शिक्षक संघ लमजुङको संस्थापक क्षेत्रीय सभापति बनेका उनी पटक–पटक केन्द्रीय प्रतिनिधि, २०४२ र २०४६ सालका महासम्मेलन सहभागी तथा २०४६ र २०६२/०६३ का जनआन्दोलनका सहभागीसमेत हुन्। पूर्व मंगला क्याम्पस प्रमुखसमेत रहेका तिवारीले लामो समय शिक्षण पेशामा रहेर काम गर्नुका साथै रेडक्रसलगायत विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। हाल नेपाल ट्रेड युनियन कांग्रेस लमजुङको अध्यक्ष रहेका तिवारीले पहिलोपटक महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा आफूलाई अघि सारेका हुन्।

कांग्रेसको संशोधित कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। प्रतिकूल मौसमका कारण लमजुङमा क्षेत्रीय अधिवेशन असोज १२ र १३ गते गर्ने तयारी गरिएको छ। तिवारीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदको आकांक्षाभन्दा श्रमिक पृष्ठभूमिका कांग्रेस कार्यकर्ताको आवाज पार्टीको नीति–निर्णय तहसम्म पुर्याउने प्रयासका रूपमा अघि सारेका छन्। लामो राजनीतिक, शैक्षिक तथा ट्रेड युनियन अनुभवलाई आधार बनाउँदै उनले श्रमिकका मुद्दालाई कांग्रेसको संगठन र नीतिमा थप बलियो ढंगले स्थापित गर्ने दाबी गरेका छन्।





















