हेडलाईनसमाचारबन्दीपुरगण्डकी

आन्दोलनदेखि संगठनको मोर्चासम्म : कांग्रेस महाधिवेशन प्रतिनिधिमा तनहुँको डुम्रेका अधिकारीको दाबी

प्रहार समाचार । तनहुँ, ११ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक सरगर्मी बढिरहेका बेला तनहुँ क्षेत्र नं. १ बाट बन्दीपुर–१ डुम्रे निवासी रामचन्द्र अधिकारीले केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुला तर्फ उम्मेदवारी घोषणा गरेका छन्।

लामो राजनीतिक संघर्ष, आन्दोलन र संगठनात्मक अनुभवलाई आधार बनाउँदै अधिकारीले ‘राजनीति सेवा हो, सत्ताको साधन होइन’ भन्ने बीपी कोइरालाको आदर्शलाई अघि सारेका छन्। संगठनलाई व्यक्ति केन्द्रित नभई कार्यकर्ता र जनतामुखी बनाउने प्रतिबद्धतासहित उनले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। २०३० सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिक यात्रामा सक्रिय अधिकारीको कांग्रेसभित्रको संघर्ष आन्दोलन र जेलनेलसँग जोडिएको छ। २०३३ सालको आन्दोलनका क्रममा तत्कालीन मण्डलेको आक्रमणबाट घाइते भएका अधिकारी २०३६ सालको आन्दोलनमा काठमाडौंमा पक्राउ परेका थिए। २०४२ सालको आन्दोलनका क्रममा पुनः पक्राउ परी साढे पाँच महिना जेल जीवन बिताएका उनले २०६२/०६३ को जनआन्दोलनमा पनि अग्रपंक्तिमा रहेर प्रजातन्त्रका पक्षमा भूमिका खेले।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा पटक–पटक गिरफ्तारी भोगेका अधिकारी नेपाली कांग्रेसका महासमिति सदस्यका रूपमा पटक–पटक जिम्मेवारी सम्हालिसकेका छन्। तनहुँ–काठमाडौं सम्पर्क समितिका संस्थापक अध्यक्षसमेत रहेका उनी दर्जनौँ सामाजिक संघसंस्थामार्फत निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका छन्।महाधिवेशनलाई केवल नेतृत्व चयनको औपचारिक प्रक्रिया नभई कांग्रेसको संगठनात्मक पुनर्जागरणको अवसर बनाउनुपर्ने धारणा राख्दै अधिकारीले क्षेत्रीय प्रतिनिधिहरूसँग मत, सहयोग र सद्भावको अपिल गरेका छन्।

“संगठन बलियो बनाऔँ, जनताको आवाजलाई महाधिवेशनमा पुर्‍याऔँ” भन्ने अभियानसहित उनले सबैलाई समेट्ने र देश जोड्ने कांग्रेस निर्माणका लागि आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउन आग्रह गरेका छन्। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। अधिकारीले “तपाईंको साथ, हाम्रो अभियान” भन्दै आफ्नो उम्मेदवारीलाई लामो राजनीतिक संघर्ष, संगठनप्रतिको प्रतिबद्धता र जनताको आवाजलाई पार्टीको केन्द्रसम्म पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button