प्रहार समाचार । तनहुँ, ११ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा व्यास–२, दमौली निवासी कल्पना पोखरेलले उम्मेदवारी घोषणा गरेकी छन् । ‘राजनीति सेवा हो, सत्ताको साधन होइन’ भन्ने बीपी कोइरालाको आदर्शलाई अघि सार्दै पोखरेलले संगठनलाई व्यक्ति केन्द्रित होइन, कार्यकर्ता र जनतामुखी बनाउने प्रतिबद्धतासहित नेतृत्वमा दाबी प्रस्तुत गरेकी हुन् ।

लामो समय कांग्रेसको संगठनात्मक भूमिकामा सक्रिय पोखरेलले नेपाली कांग्रेस तरुण दल जिल्ला कार्यसमितिको कोषाध्यक्ष तथा सहसचिव, नेपाल महिला संघ जिल्ला कार्यसमिति तनहुँको दुई कार्यकाल सचिव, नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय कोषाध्यक्ष तथा व्यास नगरपालिका कार्यपालिका सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेकी छन् । पार्टी संगठन, महिला नेतृत्व र स्थानीय तहको जिम्मेवारीमा काम गरेको अनुभवलाई उनले प्रदेश (क) को संगठनलाई थप सुदृढ बनाउने आधारका रूपमा अघि सारेकी छन् ।

‘समृद्ध तनहुँ, सशक्त स्थानीयता, उज्ज्वल भविष्य’लाई आफ्नो राजनीतिक प्राथमिकतासँग जोड्दै पोखरेलले कांग्रेसभित्र संगठनलाई चलायमान, कार्यकर्तालाई सम्मानित र जनताका मुद्दालाई केन्द्रमा राख्ने नेतृत्वको आवश्यकता रहेको बताएकी छन् । प्रदेश (क) सभापतिको प्रतिस्पर्धामा उनको उम्मेदवारीसँगै लामो संगठनात्मक अनुभव र स्थानीय तहको कार्यसम्पादनलाई राजनीतिक आधार बनाएर नेतृत्वमा स्थापित हुने उनको प्रयासलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ ।





















