विचारगण्डकी

नेटवर्किङको जालो र ठगी धन्दा

‘सस्तोमा सामान पाउने, विदेश भ्रमण गर्न पाइने, देश–विदेशका फाइभ स्टार होटेलहरुमा सेमिनारमा जान पाइने लगायतका प्रलोभन देखाएर यसमा संगठित गर्ने गरिन्छ । तर यसमा लाग्नका लागि पहिले नै मोटो रकम असुल्ने गरिन्छ । नेटवर्किङ धन्दा वा पिरामिड ठगीमा मानिसहरूलाई फसाउनका लागि ठगहरूले चलाखीपूर्ण र मनोवैज्ञानिक विधिको प्रयोग गर्छन् ।’ भन्दै द्वारिका घिमिरे लेख्छन्:

पोखराको एउटा कलेजमा स्नातकोत्तर पढ्दै गरेका रुद्रराज (काल्पनिक नाम) जागिरको खोजीमा थिए । भविष्यको चिन्ता र आमाबुबाको सपनाले उनलाई सताइरहेको थियो । ठिक त्यति नै बेला उनको १२ कक्षा पढ्दाको साथी विवेक (काल्पनिक नाम) ले फेसबुक म्यासेन्जरमा एउटा सन्देश पटाउँछन्, ‘रुद्र, नेपालमा बसेर केही गर्न सकिन्न । म अहिले भैरहवा नजिकै एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्दै छु । मासिक एक–डेढ लाख सजिलै कमाइ हुन्छ । यहाँ अरू पनि काम गर्ने मानिस खोज्दैछन्, तिमीले काम गर्ने भए छिटो आऊ है ।’म्यासेज देखेपछि रुद्रले म्यासेन्जरमै विवेकसँग कुरा गर्छन् र सोच्दै नसोची पोखराबाट भैरहवाको टिकट लिन्छन् । भैरहवा ओर्लने बित्तिकै विवेक र अर्को एकजना नयाँ मानिसले रुद्रराजलाई रिसिभ गर्छन् । तर, उनीहरूले रुद्रराजलाई कुनै अफिसमा होइन, सीमापारि भारतको एउटा ठुलो होटलको हलमा लैजान्छन् ।

रुद्रराज अलमल पर्नु स्वाभाविक भएपनि रोजगारीको लोभलाग्दो अफरले तिनलाई त्यहाँसम्म सजिलै डोर्‍याउँछ । हलमा धेरै नेपाली युवा–युवतीहरू थिए । स्टेजमा टाई–सुट लगाएको एउटा व्यक्ति ठुलठुलो स्वरमा चिच्याइ–चिच्याइ भाषण दिइरहेको थियो, ‘आजको २ लाख भोलिको २ करोड हो । नोकरी गरेर कोही धनी बन्दैनन्, दास बनिन्छ । अब तपाईँहरू मालिक बन्ने हो ।’ विभिन्न व्यक्तिहरू कोही आफूलाई डाक्टर बत्ताउँथे कोही आफूलाई इन्जिनियर बताउँथे । उनीहरू पनि काम राम्रो छ भनी भनिरहेका थिए । रुद्रराजले कुरा बुझिहाले– यो कुनै जागिर होइन, यो त नेटवर्किङ धन्दा हो । उनी त्यहाँबाट निस्कन खोजे, तर ढोकामा उभिएका दुई जना बलिया हट्टाकट्टा मानिसले बाहिर जान दिएनन् । साँझ कार्यक्रम सकिनासाथ रुद्रराजलाई छेउको सानो कोठामा लगियो । त्यहाँ विवेक र कम्पनीका दुई जना ‘सिनियर लिडर’ पनि थिए । उनीहरूको अनुहारमा क्रूरता देखिन्थ्यो ।‘यो व्यवसायमा जोडिन तुरुन्तै २ लाख रुपैयाँ बुझाउनुस् र आउने हप्ताभित्र आफ्ना ३ जना मिल्ने साथीहरूलाई यही बोलाउनुस् ।’ उनीहरुले भने । रुद्रराजले ‘म यो काम गर्दिन बरु तत्कालै घर फर्कन्छु’ भने । तर, विवेकले रुद्रराजको झोला र मोबाइल खोस्यो । लिडरले फेरी धम्क्याउँदै भन्यो, ‘पैसा नतिरी र ३ जना मान्छे नबोलाई तिमी यहाँबाट जिउँदै जान सक्दैनौ । तिम्रो घर परिवारलाई तिमी कता छौँ भन्ने पनि थाहा हुनेछैन ।’ रुद्रराजलाई रातभर भोकै, एउटा अँध्यारो कोठामा बन्धक बनाइयो । उनलाई अनेकौँ प्रलोभन र मानसिक यातना दिइयो । उनीहरुले ‘बुबालाई फोन गरेर अमेरिकाको भिसा लाग्यो, छिट्टै २ लाख आइएमई गरिदिन भन भने ।’ उनीहरूले रुद्रराजलाई बाध्यताको भूमरीमा पारे, रातको तीन बजिसकेको थियो । रुद्रराजले सोचे, ‘म डराए भने म जस्तै अरू ३ जना साथी पनि यो दलदलमा फस्छन् ।’ पहरेदारहरू निदाएको मौका छोपी रुद्रराज पिसाब गर्ने बहानाले कोठाबाट बाहिर निस्किए र कसैगरी होटल कम्पाउन्डबाट भाग्न सफल भए ।

नेपाल प्रहरीले यो कुरा थाहा पाउनु साथ भारतीय प्रहरीसँगको समन्वयमा रुद्रराजलाई त्यहीँबाट उद्धार गर्‍यो । नेटवर्किङ, मानिस बन्धक बनाउनेहरू पक्राउ परे । माथिको कथा काल्पनिक जस्तो लागे पनि वास्तविकतासँग मेल खाने घटना हो । नेपालमा नेटवर्किङ व्यवसायलाई कानुनले पूर्णतया बन्देज लगाएको छ । यस्तो ठगी धन्दामा कुनै वस्तु वा सेवाको बिक्री हुँदैन । खासमा एक जना व्यक्तिले २ वा ३ जना सदस्य बनाउनु पर्ने र त्यस्ता सदस्यहरूबाट उठाइएको रकम नै माथिल्लो तहका व्यक्तिहरूले दामासाहीमा बाँडेर लिने गर्छन् ।कसरी फसाइन्छ त नेटवर्किङमा ? बढ्दो बेरोजगारी र महँगीका कारण धरै युवाहरू आकर्षक रोजगारीको लोभमा पर्छन् । सस्तोमा सामान पाउने, विदेश भ्रमण गर्न पाइने, देश–विदेशका फाइभ स्टार होटेलहरुमा सेमिनारमा जान पाइने लगायतका प्रलोभन देखाएर यसमा संगठित गर्ने गरिन्छ । तर यसमा लाग्नका लागि पहिले नै मोटो रकम असुल्ने गरिन्छ । नेटवर्किङ धन्दा वा पिरामिड ठगीमा मानिसहरूलाई फसाउनका लागि ठगहरूले चलाखीपूर्ण र मनोवैज्ञानिक विधिको प्रयोग गर्छन् । ठगहरूले निम्न विधिको प्रयोग गर्छन् ।पहिलो, मेहनत नगरी धनी बन्ने सपना देखाइन्छ । दोस्रो, आरामदायक जीवनशैलीको प्रदर्शन गरेर मानिसलाई ठगी पासोमा पारिन्छ । तेस्रो, बहुराष्ट्रिय कम्पनीमा जागिर लगाई दिने प्रलोभन दिइन्छ । चौथो, उनीहरुले गरेको सबै काम सक्कली हो भन्ने दर्साउनका लागि नक्कली अन्तर्वार्ता लिइएको स्वाङ रचिन्छ । पाँचौँ, एउटा निश्चित लक्ष्य देखाएर त्यहाँ पुगेमा शेयरको अंशियार बन्न पाउने बाचा गरिन्छ । छैटौँ, कमिसनको थोरै पैसा दिइन्छ र धेरै रकम आफैले कुम्ल्याउने गरिन्छ । सातौँ, नाता सम्बन्धलाई प्रयोग गरेर ठगीको जालोलाई विस्तार गरिन्छ ।यति गर्दागर्दै कसैले रुद्रराजलेझै त्यहाँबाट निस्कन चाहेमा शारीरिक र मनोवैज्ञानिक दबाब दिइन्छ । नेटवर्किङ शोषणको चक्रगैरकानुनी नेटवर्किङले एउटा निश्चित चक्रमा काम गर्छ । यसको मुख्य उद्देश्य नयाँ व्यक्तिबाट पैसा उठाउनु र उनीहरूलाई यो जालोमा फसाउनु नै हुन्छ । यसको चक्रमा सबै भन्दा पहिले सम्पर्क स्थापित गरी प्रलोभनमा पार्ने । त्यसपछि टाढा बोलाएर तत्तत् व्यक्तिको सम्पर्क विच्छेद गर्ने । त्यसपछि तालिमका नाममा मानसिक दबाब दिने र उज्वल भविष्यको सपना देखाउने गरिन्छ । त्यसपछि लगानी र सदस्यताका नाममा बलजफती रकम असुली गर्ने गरिन्छ ।यस चक्रमा चिनेजानेका साथी–भाइ, नातेदारहरूलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरिन्छ । कब्जामा राख्नका लागि प्रायः भारतीय सीमावर्ती सहरहरूमा बोलाइन्छ र त्यहाँ पुग्नासाथ मोबाइल खोस्ने, एक्लै हिँड्न नदिने र कडा निगरानीमा राख्ने काम गरिन्छ ।

नेटवर्किङ धन्दाका ठगहरूले नयाँ–नयाँ मानिसलाई फसाउनका लागि पैसा कमाउने त्यस्तो काल्पनिक र जादुई कथा बुन्छन्, मानौँ त्यो साकार भएमा जीवन नै सफल हुन्छ । र, यसलाई वास्तविक जस्तो देखाउन सेमिनारका नाममा टाई–सुट लगाएका मानिसलाई स्टेजमा उतारिन्छ । उनीहरू नाटकमा जस्तै अभिनय गर्दै भन्छन्, ‘म पहिले सडकमा कवाडी उठाउँथेँ । भोकभोकै हिँड्थेँ । जब यो कम्पनीको काममा लागेँ, पजेरो चढ्ने भएँ । काठमाडौँमा आफ्नै घर लिएँ । खातामा लाखौँ रुपैयाँ जम्मा भएको मोबाइलमा नक्कली बैंक स्टेटमेन्ट देखाउँछन् । यस्तोमा अवकासप्राप्त समाजका प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी हुन सक्छन् । अनि गठहरूले उनीहरूलाई नै देखाएर आफ्नो ठगी व्यवसायलाई फैलाउन यत्न गरिरहेका हुन्छन् । तर यस्तो धन्धाबारे प्रहरीले अनुसन्धान गर्न थालेमा वा पक्राउ गर्न थालेमा उनीहरू देखाउने अफिस समेत छोडेर कुलेलाम ठोक्छन् । के नेटवर्किङ कारोबार वैध हो त ?नेटवर्किङ व्यवसाय एउटा ठगी धन्दा हो । नेपालमा यस प्रकारको ‘पिरामिड’ मा आधारित नेटवर्किङ व्यवसायलाई कानुनद्वारा पूर्ण प्रतिबन्ध लगाइएको छ । यसमा कुनै वास्तविक वस्तु वा सेवाको बिक्री हुँदैन । एक जनाले २ वा ३ जना सदस्य थप्नुपर्ने र ती सदस्यहरूबाट उठाएको रकम माथिल्लो तहका व्यक्तिहरूले बाँडेर लिने गरिन्छ । नेपालको ‘वस्तुको प्रत्यक्ष बिक्री ऐन, २०७४’ को दफा ११ ले पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

मुलुकी अपराध संहिता २०७४ः मा जबरजस्ती रकम असुल्ने र ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ भने मानिसलाई बन्धक बनाउने कार्य आफैमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग २ को परिच्छेद १७ मा अपहरण वा शरीर बन्धक सम्बन्धी विषय आकर्षित हुने कसुर हो । त्यसैले नेपालमा यो पिरामिड नेटवर्किङ धन्दा पूर्ण रूपमा गैरकानुनी र प्रतिबन्धित छ । भारत सरकारले यस प्रकारका ठगी धन्दाहरूलाई रोक्नका लागि अत्यन्तै कडा कानुनी व्यवस्था गरेको छ । भारतको कानुनी व्यवस्थामा भारतको उपभोक्ता संरक्षण नियम २०२१ ले कुनै पनि प्रकारको पिरामिड स्किम वा मनी सर्कुलेशन कारोबार चलाउन, त्यसमा मानिसहरूलाई आबद्ध गराउन, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रचार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । इनामी चिट र धन परिचालन योजना ऐन, १९७८ अनुसार केवल सदस्य थपेकै भरमा र पैसाको चक्र बनाएर रकम असुल्ने कार्यलाई ठुलो अपराध मानिन्छ । र, संलग्नहरूलाई जेल सजाय र जरिवानाको समेत व्यवस्था गरेको छ ।

नेपाली युवाहरूलाई झुक्क्याएर भारतका सीमावर्ती सहर वा होटलहरूमा लैजाने र बन्धक बनाएर पैसा असुल्ने कार्य भारत र नेपाल दुवै देशको कानुन अनुसार गम्भीर फौजदारी अपराध हो । नेटवर्किङ ठगीबाट कसरी जोगिने ? कुनै व्यक्तिले नेटवर्किङमा फसाउन खोजिरहेको छ अथवा कतै पैसा बुझाइ सक्नु भएको छ भने तपाईँ बिना कुनै डर तुरुन्तै निम्न कदम चाल्नुपर्छ । पहिलो, नेटवर्किङमा फसाउन खोजिरहेको व्यक्तिसँग सम्बन्ध विच्छेद गर्नुस् । उनीहरूले तपाईंको नागरिकताको, राहदानीको प्रतिलिपि वा बैंक एकाउन्टको विवरण आदि माग्न सक्छन् । झुक्किएर पनि आफ्नो व्यक्तिगत जानकारी र दस्ताबेजहरू कसैलाई नदिनुस् । यदि तपाईँले पैसा बुझाइसक्नु भएको छ भने रकम फिर्ता लिने र कानुनी उपचारको बाटो रोज्नुको विकल्प छैन । आफ्नै तहबाट र प्रहरीमा उजुरी दिएर पैसा फिर्ता लिने प्रक्रियामा लाग्नुस् । आफूसँग भएका प्रमाणहरू सुरक्षित राख्नुहोस् किनभने यी सबै तपाईंको कानुनी उपचारमा काम लाग्ने प्रमाण हुन् । नेपाल प्रहरीका साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वा उपभोक्तावादी संस्थाहरूमा पनि ठगी कार्य विरुद्ध लिखित निवेदन दिन सकिन्छ । तपाईँ उम्कने खोजेको सङ्गठनमा आफ्ना कुनै पनि आफन्तीलाई नजोड्नुस् । किनभने मेहनत नगरिकन, वैधानिक व्यवसाय नगरिकनै तपाईँ धेरै पैसा कमाउन सक्नु हुन्छ भनेर कसैले पनि तपाईँलाई भन्छ भने बुझ्नुस् तपाईँ ठगीको सिकार हुँदै हुनुहुन्छ ।

(प्रस्तुत लेख लेखक द्वारिका प्रसाद घिमिरेको ‘रातोपाटी’ अनलाइनमा प्रकाशित सामग्रीबाट सान्दर्भिकताका आधारमा साभार गरी प्रकाशित गरिएको हो। लेखक नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक हुन्। लेखमा व्यक्त विचार तथा विश्लेषण लेखककै हुन्।— सम्पादक



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button