हेडलाईनसमाचारगण्डकीविजनेसमनोरञ्जनखेलकुद

‘राजा छान्ने दौड’लाई विश्वमाझ चिनाउँदै गोरखाको पालुङटार नगरपालिका

प्रहार समाचार । गोरखा, २२ असोज २०८३ बिहीबार । दौडिएर राजा छान्ने विश्वकै दुर्लभ ऐतिहासिक परम्परालाई आधुनिक खेलकुद, पर्यटन र स्थानीय समृद्धिसँग जोड्दै गोरखाको पालुङटार नगरपालिकाले १२औँ लिगलिग दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालको इतिहास, मौलिक संस्कृति र प्राचीन लोकतान्त्रिक अभ्याससँग जोडिएको लिगलिगकोटमा आगामी असोज २९ गते हुने प्रतियोगिताले ‘राजा छान्ने दौड’को ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने लक्ष्य लिएको छ । दुई वर्षको प्राविधिक तथा परिस्थितिजन्य स्थगनपछि हुन लागेको प्रतियोगिता चेपे र मर्स्याङ्दी नदीको संगमस्थल चेपेघाटदेखि समुद्री सतहबाट करिब ४ हजार ७९० फिट उचाइमा रहेको लिगलिगकोट गढीसम्मको १३.८ किलोमिटर दूरीमा सञ्चालन हुनेछ । ऐतिहासिक अभिलेखअनुसार वि.सं. १६०४ को विजयादशमीमा चेपेघाटबाट दौडेर प्रथम भएका १९ वर्षीय दलसुर घले मगर लिगलिगकोटका पहिलो राजा बनेका थिए ।

त्यसपछि वि.सं. १६१६ को विजयादशमीमा लमजुङका अधिराजकुमार द्रव्य शाहले लिगलिगकोटमा आफ्नो प्रभुत्व कायम गरी गोरखा राज्य स्थापना गरेका थिए । यही गोरखा राज्यको जगबाट पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियान अघि बढाएका थिए । यही इतिहासलाई आधुनिक पर्यटनसँग जोड्न नगरपालिकाले लिगलिगकोटलाई केवल वार्षिक दौडको गन्तव्यमा सीमित नराखी चेपेघाट–लिगलिगकोट १३.८ किलोमिटर पदमार्गलाई अन्तर्राष्ट्रियस्तरको स्थायी ट्रेल रनिङ तथा ऐतिहासिक पदयात्रा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ । लिगलिगकोटमा रहेका ऐतिहासिक गढी, दरबारका भग्नावशेष, शिलालेख, धार्मिकस्थल तथा हिमशृङ्खलाको दृश्यलाई पर्यटनको प्रमुख आधार बनाउने नगरपालिकाको योजना छ ।प्रतियोगिताको विजेतालाई श्रीपेच, पगरी, नगद पुरस्कार र सांकेतिक राजाको सम्मानसँगै एक वर्षका लागि ‘अवैतनिक पर्यटन दूत’को जिम्मेवारी प्रदान गरिनेछ ।

प्रतियोगिताले स्थानीय होमस्टे, कृषि उपज, हस्तकला तथा साना व्यवसायको प्रवर्द्धन गर्दै स्थानीय युवाका लागि रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिता व्यवस्थित बनाउन पालुङटार नगरपालिकाले राजनीतिक दल तथा सरोकारवालाको प्रतिनिधित्व रहने गरी सात सदस्यीय सर्वपक्षीय सहजीकरण समिति गठन गरेको जनाएको छ । दौड मार्गमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन, प्राथमिक उपचार, एम्बुलेन्स तथा खानेपानीको व्यवस्था गरिनेछ । नगरपालिकाले लिगलिगकोटलाई कुनै व्यक्ति वा दल विशेषको नभई पालुङटारवासी र सिंगो नेपालीको साझा ऐतिहासिक धरोहरका रूपमा संरक्षण र प्रवर्द्धन गर्न सबै पक्षलाई सहभागी हुन अपिल गरेको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button