प्रहार समाचार । तनहुँ, २३ असोज २०८३ शुक्रबार । बडादशैंको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई जीवन्त बनाउँदै तनहुँको भानु नगरपालिकामा ‘बडादशैं विशेष सांस्कृतिक तथा खेलकुद कार्यक्रम–२०८३’ आयोजना हुने भएको छ ।

स्वास्थ्य, संस्कृति, एकता र उत्सवलाई जोड्दै असोज ३० गते फूलपाती विशेष कार्यक्रमदेखि असोज ३१ गते खुला दौड तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । असोज ३० गते शुक्रबार बिहान ७ बजे भानु नगरपालिका–पुर्कोट कालिकाबाट परम्परागत विधिअनुसार फूलपाती गोरख कालिका लैजाने कार्यक्रम हुनेछ । त्यसको भोलिपल्ट असोज ३१ गते शनिबार बिहान ७ बजे सत्तल मुक्तेश्वर महादेव मन्दिरबाट खुला दौड सुरु हुनेछ । सत्तल–नाउँरुडू–गैंडेपानी–थापागाउँ–चन्दनी–फूलपाती हुँदै कोटगढीस्थित गोरख कालिका मन्दिरसम्म पुग्ने दौडमा प्रथम हुनेले रु.२० हजार, द्वितीयले रु.१० हजार र तृतीयले रु.५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।दौडसँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार र स्थानीय समुदायको सहभागितालाई समेत प्राथमिकता दिइएको छ ।

सहभागीले पुर्कोट कालिका मन्दिर ‘माइती’ दर्शनदेखि गोरख कालिका ‘घर’ दर्शनसम्मको धार्मिक यात्रा गर्नेछन् । दौडपछि पुर्कोट गढी (कोटघर) मा आमा समूहको म्युजिकल चियर तथा बाबा समूहको घैँटो फुटाउने प्रतियोगितासहित स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा दुर्गा गरुड, अकल विरही गुरुङ, कृष्णबहादुर थापा मगर, सञ्जिता दूरा, शंकर परिवार, तुलसी गुरुङ र कल्पना गुरुङलगायत कलाकारले प्रस्तुति दिनेछन् ।
श्री कोटघर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिको आयोजनामा हुने कार्यक्रमले दशैंलाई केवल टीका र जमराको पर्वमा सीमित नराखी धार्मिक सम्पदा, स्थानीय संस्कृति, खेलकुद, पर्यटन र सामुदायिक एकतालाई एउटै उत्सवमा जोड्ने प्रयास गरेको समितिका अध्यक्ष पुकार गुरुङले बताए । उनका अनुसार पुर्कोट कालिका र गोरख कालिकाबीचको परम्परागत सम्बन्धलाई उजागर गर्दै पुर्कोट गढीको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्वलाई व्यापक रूपमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।






















