
धेरै याद त छैन बाहिर बसे , लामाे घडी सम्म जाे
जेजे याद छ याे झिनाे मगजमा , सङ्क्षेपमा लेख्छु याे
ल्याई धार्मिक ती किताब घरमा , दिन्थे पढेस् है भनी
पर्दै मख्ख किताब ती दिनदिनै , पढ्थेँ म ज्ञानी बनी।।
बाकाे काेसिस नै भएन कहिल्यै , पैसा कमाऊँ भनी
पुर्खाको धन याे तथा जमिनले , भन्थे यसै पुग्छ नि
आफ्ना सन्ततिको नि याद नगरी , छाडेर एक्लै रहे
माया , माेह , लगाव, लालच सबै , त्यागेर याेगी भए ।।
चाेला याे बुझ त्याग गर्न बनियो , भन्दै सिकाए सधैँ
आफ्नाे कर्म खुदै छ गर्नु जनले , भन्दै पढाए खुबै
देखेको कहने नियन्त्रण कतै , गर्दै नगर्ने मन
याे आशक्ति सबै निरर्थ छ भनी , गर्थे निकै मन्थन ।।
मेरा बा अति नै विचित्र मनका , वास्तै नगर्ने घर
ठग्ने कर्म कतै भएन जगमा , आत्मा थियो सुन्दर
भेटे साधु र सन्त नित्य घरमा , बानी थियो ल्याउने
हप्की झट्ट दिने कतै भुल हुँदा , हुन्थेन सम्झाउने।।
तेराे बा अति नै दयालु मनका , भन्छन् कसैले यहीँ
तेराे बा हँसिला निमग्न रसिला , दानी थिए भन्छ क्वै
तेरा बा गुनिलो सहायक थिए , भन्छन् छिमेकी जन
तेराे बा मनका वडाे असल हुन् , भन्छन् अरू सज्जन ।।
बाेल्थे ती नमिठो रुखाे वचनले , भन्छन् यहाँ क्वै जन
क्वै भन्छन् नमिठो भए नि दिलका, राम्रा थिए सज्जन
क्वै भन्छन् निठुरी कठाेर घरकाे , वास्तै नगर्ने जन
क्वै भन्छन् सब पुत्र खातिर थियो , सङ्घर्षकाे शिक्षण।।
मेराे कर्म बिहे सकेर उनमा , देख्याैँ ठुलाे अन्तर
गर्ने काम सबै सकेँ अब भनी , छाडे तुरुन्तै घर
भन्थे जान्छु सबै भुलेर अब याे , के बाँच्नु आसक्त भै
छाडे याे घर देवघाट मठमा , बस्ने भए भक्त भै ।।
अर्काको घर चाड पर्वहरुमा , देख्थ्याैँ खुशी ती सबै
प्रायः चाड र पर्वका समयमा , सम्झेर रून्थ्याैँ खुबै
दुख्थ्यो चित्त उनी सधैँ पर हुँदा , बाबा भए ता पनि
बिस्तारै मन याे बुझाउन सकेँ , लेखा त हाे याे भनी ।।
आर्मी जागिरकाे सदैव उनले , लिन्थे खुदै पेन्सन
बर्षाैँ जागिरमा रमेर पनि त्यो , वैराग्य आयाे किन?
याे सानाे घरबार धान्न सकिने , राम्रै थियो है धन
त्याे वैराग्य कसाे गरी हुन गयाे , बुझ्नै सकेनाैँ मन।।
राेगी दुर्बल ती बने र घरमा , ल्यायाैँ जसै अन्त्यमा
देख्याैँ त्यो मनिलाे मुहार उनकाे , झन्डै दसाैँ बर्षमा
बिस्तारै अति रूग्ण भाे बदन त्यो, झन् क्षीण बन्दै गयाे
तेस्राे बर्ष शरीर माेचन भयो , कैलाश यात्रा भयो।।
तिम्रो पुत्र म हूँ शरीर सब याे , तिम्रै म मा अंश छ
भावी सन्तति ती सबै अब हुने , तिम्रै त हून् वंशज
पैले दिक्क थिएँ बुझेँ म अहिले , जे भाे ठिकै नै भयाे
जाे कर्तव्य सकी सभक्ति मठमा , बस्छन् भने पुण्य हाे।।
ईर्ष्या लाेभ कतै थिएन जसको , वैराग्य भाे साैरभ
त्यागी सन्त थिए बुवा र मनमा , लाग्दैछ याे गाैरव
ठट्याैलाे रसिलो स्वभाव उनकाे, सम्झेर त्यो झल्झली
मानी गाैरव याे पवित्र मनले , अर्पन्छु श्रद्धाञ्जली!!
- म्याग्दे ३, तनहुँ ।
























