साहित्यप्रदेश

कविता  : हकदैया

एकाएक अस्ताएर घाम
हराएर उज्यालो
खसेर आकास
भासिएर धर्ती
बगाउंदा बाढीले घरबार
हार्दैन मानिसले हिम्मत
तर …..तर
आफ्ना प्रियजन गुमाएर
शोकको सागरमा हेलिएको दुखःद समयमा
केही सोच्न सक्दैन मानिस
पराई आफन्तको भेद पाईनसक्दै
अनेकन दृश्यहरू सलबलाउछन्
आंगनमा
घरमा

घाटमा
जोडिएर आउंछन् दिवंगतका अनेक शिलशिला
नातागोता , ईष्टमित्र, छिमेकी र साथीभाइ
खुल्छन्
कहिल्यै  थाहा नपाईएका अज्ञात सम्बन्धहरू
एकाएक आईपुग्छन् एकहुल जमात
हकदैया कायम गरेर जान्छ मुट्ठी कसेर
मौनधारण गरेर अंशको दावी गर्छ अर्को जमातले
झण्डा ओढाएर हनन् गर्छ
लाशको मौलिक अधिकार
चीरहरण गरेर जान्छन् सद्भावना र भाईचाराको
दु:ख माथि दुःख थपेर
शोकाकुल परिवारजन् माझ
सिर्जना गरिदिन्छन् कृत्रिम सम्बन्धहरू
कित्ता कित्तामा विभाजित हुन्छन् भाइ भाइ
बोलचाल बन्द गराइदिन्छन् आफन्त वीच
मलजल गरिदिन्छन्
क्लेस,द्वेष र मनमुटावको खेतीमा
शिलशिलेवार झगडाको विऊ रोपिदिन्छन् पुस्तौं पुस्ता
एउटा मान्छेको महाप्रस्थान यात्रा पश्चात् !
• रत्ननगर,चितवन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button