प्रहार समाचार । मुस्ताङ, १ जेठ २०८३ शुक्रबार । हिमालको काखमा अवस्थित धुम्बा ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ साम्ले गाउँमा रहेको यो ताल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र रहस्यमय कथाका कारण चर्चामा आउने गरेको हो ।

जोमसोम बजारबाट करिब पाँच किलोमिटर पश्चिममा रहेको धुम्बा ताल समुद्री सतहबाट करिब दुई हजार ८३० मिटर उचाइमा अवस्थित छ । मुटुको आकारजस्तै देखिने भएकाले युवापुस्तामाझ यो ताल “हार्ट–सेप्ड लेक” का रूपमा परिचित छ । धौलागिरि र नीलगिरि हिमश्रृंखलाको बीचमा रहेको हरियो–निलो रंगको तालले पर्यटकलाई लोभ्याउने गरेको स्थानीय बताउँछन् ।स्थानीय समुदायका अनुसार धुम्बा ताल केवल पर्यटकीय गन्तव्य मात्र नभई धार्मिक आस्थाको केन्द्र पनि हो ।
तालको संरक्षण तथा व्यवस्थापन नजिकै रहेको कुचाप टेरेङ्गा गुम्बाका भिक्षुहरूले गर्दै आएका छन् । तालको पानीलाई पवित्र मानिने भएकाले यहाँ माछा मार्न, पौडी खेल्न वा पानी प्रदूषित गर्न निषेध गरिएको छ । ताल वरिपरि फहराइएका प्रार्थना झण्डाले थप आध्यात्मिक वातावरण सिर्जना गरेको देखिन्छ ।धुम्बा तालसँग जोडिएको एउटा रहस्यमय घटना स्थानीयवासीमाझ अझै चर्चित छ ।

वर्षौँअघि तालको पानी एक्कासी रगतझैँ रातो भएको भनाइ स्थानीयको छ । उक्त घटनापछि गाउँलेहरूले बौद्ध भिक्षुहरूलाई बोलाएर विशेष पूजा तथा धार्मिक अनुष्ठान गराएका थिए । त्यसपछि तालको पानी पुनः प्राकृतिक रंगमा फर्किएको विश्वास गरिन्छ । वैज्ञानिकहरूले भने शैवाल वा माटोको असरका कारण पानीको रंग परिवर्तन भएको हुनसक्ने अनुमान गरेका छन् ।तालको किनारमा रहेको सेतो ढुंगालाई स्थानीयले नाग देवताको वासस्थानका रूपमा मान्ने गरेका छन् । प्रत्येक वर्ष यहाँ विशेष पूजा गरिने तथा हरेक तीन वर्षमा ठूलो धार्मिक समारोह आयोजना हुने गरेको छ । गत मार्च १६, २०२५ मा स्थानीयले उक्त स्थानमा सर्प देखिएको दृश्य पहिलो पटक भिडियोमा कैद गरेका थिए । स्थानीय बासिन्दाले यस घटनालाई शुभ संकेतका रूपमा लिँदै विशेष पूजा आयोजना गरेका थिए ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको धुम्बा ताल भ्रमणका लागि मार्चदेखि मे तथा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समय उपयुक्त मानिन्छ । जाडोयाममा हिउँले ढाकिने भए पनि ताल वरपरको दृश्यले पर्यटकलाई फरक अनुभूति दिने गरेको छ । स्थानीय पर्यटन व्यवसायीले धुम्बा ताल मुस्ताङ भ्रमणको प्रमुख आकर्षण बन्दै गएको बताएका छन् ।
























