“आमा ! हजुरको आशीर्वादले गर्दा धेरै पढेँ।अमेरिका पुगेँ । मन परेकी जीवन साथी पनि भेटें । अब म यतै सेटल भएँ। व्यस्त हुन्छु। मस्त छु,गाडी छ,सुविधासप्पन्न घर छ,व्यापार पनि भ्याइनभ्याइ छ” अमेरिकाबाट छोरो रिकेश भिडियो कलमा बोल्यो आमासँग।
“ल ल ! राम्रो गर,सबैको हाइहाइ हुनू।” अमिलो मन बनाइन् आमाले।
“आमा ! आज हजुरको आवाज मन्द छ,अनुहार नि किन मलिन आमा ?” जिज्ञासा राख्यो रिकेशले।
“ठिकै छ बाबू ! नातिनातिनाको ख्याल गर्नू । सायद पढ्न गएका होलान् । उनीहरूलाई देख्न नि रहर भो मलाई। यतिका वर्ष भो फर्केका छैनौ। तिमी फर्कने बेलासम्म म रहन्छु कि रहन्न होला खै” लामो सुस्केरा हाल्दै बोलिन् आमा।
“त्यसो नभन्नु आमा ! अब त धेरै वर्ष छैन।हामी सायद दुई वर्षमा फर्कन्छौँ। बाबुको स्कुल लेभल सकिन्छ।” रिकेशले ताजगी गरायो।
“भोलि विजया दशमी हो,यसपालि नि अधुरै भो रहर तिमीहरूको शिर छोएर आशीर्वाद दिने !” निधारमा नमिठा धर्सा तेर्सिए आमाका।
“भोलि दशै भनेर त हो नि फोन गरेको ! भोलि एउटा ठूलो इभेन्ट छ बिजनेसको। सायद फोन गर्ने फुर्सद हुन्न।आशीर्वाद दिनुस् आमा आज नै।” सम्झे झैं गरी बोल्यो रिकेश।
“बाबु ! तिमी कहिल्यै बूढो हुन नपरोस्। छोराछोरीको प्रतीक्षामा रुन नपरोस् तिमीलाई ! बडा दशैंको शुभ आशीर्वाद बाबु !” आशीर्वादसँगै फोन काटिन् आमाले।





















