प्रहार समाचार । तनहुँ, २७ भदौ २०८३ शनिबार । जिल्ला भलिबल संघ तनहुँको सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघको हिंजो दमौलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले कल्याण विक्रम अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

तनहुँमा भलिबल खेलको विकास, विस्तार र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्य सहित सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा राजकुमार अधिकारी र शम्शेर लम्साल, महासचिवमा पवित्रा अधिकारी तथा कोषाध्यक्षमा अशोक राना निर्वाचित भएका छन्। सदस्यमा शिवबहादुर राना, ज्ञानबहादुर गुरुङ, चिजकुमार वि.क., रामनाथ भण्डारी, नवल गुरुङ र पिताम्बर थापा चयन भएका छन्।
अधिवेशन जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदमबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, नेपाल भलिबल संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्मा, विभिन्न खेल संघका पदाधिकारी तथा भलिबल खेलाडीहरूको सहभागिता थियो।
कार्यक्रममा वक्ताहरूले तनहुँमा भलिबलको आधार बलियो बनाउन प्रतियोगिता सञ्चालनसँगै नयाँ प्रतिभा पहिचान र उत्पादनमा ध्यान दिनुपर्ने बताए। जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष पाण्डेले नवनिर्वाचित समितिलाई बधाई दिँदै खेल संघहरूले समयमै साधारणसभा तथा नवीकरण गर्नुपर्ने र हरेक वर्ष कम्तीमा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने नियम पालना गर्न आग्रह गरे। निर्वाचन नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो।

















