हेडलाईनसमाचारबागमती

भोटेकोसी बाढीको भयावह क्षति : ७५९ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, ३३ मोटरेबल पुल बगे

प्रहार समाचार । काठमाडौं, २६ भदौ २०८३ शुक्रबार । रसुवाको भोटेकोसी बाढीले मानवीय र भौतिक क्षतिसँगै देशको ऊर्जा तथा यातायात पूर्वाधारमा समेत गम्भीर धक्का दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

प्रभावित आयोजनाको कुल उत्पादन क्षमता ७५९ मेगावाट रहेको प्राधिकरणले जनाएको छ। यसले बाढीको असर तत्कालीन उद्धार र राहतमा मात्र सीमित नभई ऊर्जा उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा समेत पर्ने देखिएको छ।बाढीले सडक तथा पुलतर्फ पनि ठूलो विनाश निम्त्याएको छ। प्राधिकरणका अनुसार ६९ किलोमिटर सडकमा क्षति पुगेको छ भने क्षतिग्रस्त ३७ वटा मोटरेबल पुलमध्ये ३३ वटा पूर्णरूपमा बगाएको विवरण छ। बाँकी पुलहरूसमेत बाढीको चपेटामा परेका छन्। सडक र पुलमा भएको यो क्षतिले प्रभावित क्षेत्रको आवागमन, उद्धार, राहत तथा दैनिक आपूर्ति व्यवस्थालाई थप चुनौतीपूर्ण बनाएको छ।भोटेकोसीको बाढीले मानिसको आवागमनका लागि प्रयोग हुने संरचनालाई समेत बाँकी राखेन। ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी खानेपानी तथा अन्य प्रयोजनमा प्रयोग हुने करिब ४१४ किलोमिटर पाइपलाइन क्षतिग्रस्त भएको छ। पुल र पाइपलाइनमा भएको क्षतिले प्रभावित बस्तीमा यातायातसँगै खानेपानी तथा आधारभूत सेवाको पहुँच पुनःस्थापित गर्न ठूलो चुनौती थपेको छ।प्राधिकरणको यो विवरणले भोटेकोसी बाढीलाई सामान्य प्राकृतिक विपद्का रूपमा हेरेर तत्कालीन राहतमा मात्र सीमित हुन नहुने स्पष्ट संकेत गरेको छ।

७५९ मेगावाट क्षमताका जलविद्युत् आयोजना, दर्जनौँ पुल, ६९ किलोमिटर सडक र सयौँ किलोमिटर पाइपलाइनमा भएको क्षतिले पुनर्निर्माणको आवश्यकता कति ठूलो छ भन्ने देखाएको छ। अब सरकारले क्षतिको यथार्थ मूल्यांकन, जोखिमयुक्त पूर्वाधारको पुनर्निर्माण र भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना अघि बढाउनुपर्ने देखिन्छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button