हेडलाईनसमाचारबागमती

‘इको’ सुनियो, चिसो हावा पनि आयो : चिलिमे सुरुङभित्र फसेकाहरूको उद्धारमा आशा बलियो, अब १०० मिटर मात्रै बाँकी

प्रहार समाचार । काठमाडौं, २७ भदौ २०८३ शनिबार । । रसुवाको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारमा ‘आवाजको इको’ र सुरुङभित्रबाट आएको चिसो हावाले नयाँ आशा जगाएको छ। उद्धार टोली लेदो, बालुवा र ढुंगाले साँघुरिएको मुख्य पहुँच सुरुङ छिचोल्दै विद्युतगृहको नजिक पुगिरहेको छ।

चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशकसमेत रहेका कुलमान घिसिङ उद्धार कार्यमा प्रत्यक्ष सहभागी हुँदै विद्युतगृह सञ्चालनको आफ्नो अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेका छन्। उनका अनुसार सुरुङको साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रतर्फ आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यही क्षेत्रबाट चिसो हावा समेत आइरहेको पाइएपछि सुरुङभित्र रहेका कर्मचारी सकुशल हुनसक्ने आशा थप बलियो बनेको हो।मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा थुप्रिएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र पारिएको छ। उद्धार टोली जोखिमपूर्ण अवस्थाबीच लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ।

पछिल्लो जानकारीअनुसार अब भूमिगत विद्युतगृह पुग्न करिब १०० मिटर मात्रै बाँकी रहेको छ। उद्धारमा संलग्न टोलीका लागि अहिले प्रत्येक मिटरको प्रगति र सुरुङभित्रबाट प्राप्त हुने प्रत्येक संकेत महत्वपूर्ण बनेको छ।उद्धारलाई थप गति दिन स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म स्केभेटर पुर्‍याउन सडक तथा बाटो निर्माणको कामसमेत तीव्र पारिएको छ। आजसम्ममा स्केभेटर सुरुङसम्म पुर्‍याउने लक्ष्यसहित काम भइरहेको जनाइएको छ। स्केभेटर र लोडर घटनास्थलसम्म पुगेपछि सुरुङभित्र थुप्रिएको लेदो, बालुवा तथा ढुंगा हटाउने काम अझ तीव्र हुने र उद्धारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारी निरन्तर खटिएका छन्। कठिन र संवेदनशील परिस्थितिका बीच उद्धार टोलीले उच्च मनोबलका साथ अहोरात्र काम गरिरहेको घिसिङले बताएका छन्।

सुरुङभित्रबाट आएको इको र चिसो हावाको संकेतले फसेका कर्मचारी जीवितै रहेको सम्भावनातर्फ आशा जगाए पनि उनीहरूको वास्तविक अवस्था भने उद्धार टोली विद्युतगृहसम्म पुगेपछि मात्रै यकिन हुनेछ। त्यसैले अहिले उद्धारकर्ताको मुख्य चुनौती सुरुङमा थुप्रिएको लेदो र संरचनागत अवरोध हटाउँदै सुरक्षित रूपमा विद्युतगृहसम्म पुग्नु बनेको छ।घिसिङले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी तथा प्रत्यक्ष–परोक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गर्दै उद्धारमा खटिएका सबैको अथक प्रयास सफल होस् भन्ने कामनासमेत गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button