हेडलाईनसमाचारगण्डकी

भोटेकोशी बाढीको कहर : ३३ नागरिक गुमाएपछि शोकमा पालुङटार नगरपालिका, ‘शोकलाई शक्तिमा बदल्ने सङ्कल्प’

प्रहार समाचार। गोरखा, ३० भदौ २०७३ मङ्गलबार । भोटेकोशीको अकल्पनीय बाढीको कहरमा गोरखाको पालुङटार नगरपालिकाका ३३ नागरिकले ज्यान गुमाएपछि यतिबेला सिङ्गो पालुङटार शोकमा डुबेको छ। एउटै विपद्ले ठूलो मानवीय क्षति बेहोरेको नगरमा आयोजित शोकसभामा सहभागी अधिकांशका आँखामा आँसु रोकिएनन्।

दिवंगत नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा आयोजित शोकसभाले पीडित परिवारको दुःखसँगै विपद्पछिको पुनर्स्थापनाका लागि सामूहिक संकल्प गर्ने सन्देश दिएको छ।

नगर प्रमुख विवश चिन्तनले ३३ जना नागरिक गुमाउनु पालुङटारका लागि अपूरणीय क्षति भएको बताउँदै ‘शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन’ भन्नेमा जोड दिए। उनले विपद्ले दिएको पीडाबाट नगरवासीलाई बाहिर निकाल्न स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए। प्रभावित परिवारको पीडा सम्बोधन गर्दै पुनर्स्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।

शोकसभामा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटी, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा, भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना, पालुङटार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज नेपाली सिर्मललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।

सहभागीहरूले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए। कार्यक्रममा मन्त्री देवकोटा, सांसद बुर्लाकोटी तथा नगर प्रमुख चिन्तनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई आवश्यक सहयोग, समन्वय र पुनर्स्थापनाका काममा सबै पक्ष एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। विपद्ले दिएको घाउ तत्काल मेटिने अवस्था नरहे पनि पीडित परिवारलाई एक्लो महसुस हुन नदिने र राज्यका संयन्त्र तथा स्थानीय समुदायको सहकार्यमा आवश्यक सहयोग निरन्तर अघि बढाउनेमा सहभागीहरूले जोड दिएका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button