साहित्यप्रदेशमनोरञ्जन

प्रहार साहित्य : कविता ‘निस्कियोस् प्रेम गाना’

सरल असल साह्रै काव्य होस् पढ्न पाऊँ 
शिखर धवल उस्तै शानले चढ्न पाऊँ 
सहज मन दुबैको मध्यवर्ती निशाना 
नयन युगल जुद्धा निस्कियोस् प्रेम गाना । 

सहुलियत मिलेको हुन्छ आँखा जुधाए 
सहज सरल शैली चित्त मिल्दो बुझाए 
अनवरत सदीक्षा चाहिएको हुनाले 
मदनसित बलियो प्रेम गाँसिन् मुनाले । 



अपरिचित हुनाले बोल्न इच्छा अनाैठा 
उकुसमुकुस छायो प्रेममा बन्न द्यौता 
मधुरमण मिलेका बोल्न खप्पिस बानी 
जय जय जय अम्बे जप्न थाल्छन् भवानी ।



अभिनव कवितामा व्यासको दिव्य झल्को 
मणिमय सपना होस् भव्य देदीप्य सल्को 
सहज उपज राम्राे प्रेमको वागवानी 
चमकमय सफा होस् प्रेमकै यो बिहानी । 



हृदय कमल छोप्ने प्रेमको होस् पछ्यौरी 
ललित मन मिलेको भावना बाँध्न डोरी 
शुभ यश लय मिल्ने नेत्रका तीक्ष्ण भाखा 
अलि वर अझ आऊ गुन्जियोस् भीर पाखा 

• याम्दे, तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button