
जेन्जी पुस्ताले ल जनक्रान्ति ल्यायाै
ती भ्रष्ट नेता छिनमै धपायाै
आनन्द छायाे तर छन् गुनासा
सम्पत्ति हाम्रै गरिए विनाश ।।
जेन्जी बनी ध्वंश बिनास गर्दा
छाेपेर माैका धन माल चाेर्दा
याे चित्त राेयाे घुसपैठ चल्दा
अड्डा र कार्यालय व्यर्थ जल्दा ।।
ती छद्मभेषी जति छन् तलास्नू
जेन्जी पुस्ता लालचमा नफस्नू
काला सबै द्रव्य छिटाे निकाल्नू
चण्डाल नेता सब जेल हाल्नू ।।
जेन्जी खुदै झैझगडा नगर्नू
उक्साउलान् है भ्रममा नपर्नू
कर्तब्य छाेडी कहिल्यै नभाग्नू
विध्वंस गर्ने तिर क्वै नलाग्नू ।।
मर्नेहरूका बलिदान निम्ति
गर्नू भलाे श्रेष्ठ उपाय बिन्ती
हाेस् घाइतेका उपचार उम्दा
पूरै हटून् यी चलखेल धन्दा ।।
मन्त्री सँगै भै सहकार्य गर्नू
तिम्रा सबै माग अगाडि सार्नू
धम्क्याउलान् है कहिल्यै नडग्नू
जेन्जी पुस्ताले इतिहास रच्नू ।।
• तनहुँ – ४ असोज २०८२

























