मबाट गल्ती हुँदैन सानू, पियार लाएँ धरा सजाई
छ देश मेरो असाध्य राम्रो, यतै रमाएँ धरा सजाई

अनेकतामा छ एकता नै, मिलेर बस्दा समाज जम्छ
रहेछ माटो अनाज फल्ने, मनै बुझाएँ धरा सजाई

हिमाल हाँस्दा गुराँस फुल्दा, तिमी रमायौ म हुन्छु दङ्ग
अतीव सच्चा छ प्रेमगाथा, सबै सुनाएँ धरा सजाई
स्वदेश माया भुलिन्न प्यारी, जहाँ म जाऊँ हिसाब हुन्न
झुलेछ बाली मनै रमायो, व्यथा बिसाएँ धरा सजाई
बनेर पापी म दिन्न धोका, भएर ढुक्कै बसे नि हुन्छ
ल दैव भाकी र हात तानी, कसम नि खाएँ धरा सजाई
(बहर : मुशाकिल मक्बुज अश्लम–जमील)
३१ साउन २०८३ आइतबार















