प्रहार समाचार । तनहुँ, ९ साउन २०८३ शनिबार । लमजुङको मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेमा रहेको ‘भानु घाँसी संवाद पार्क’ मा राखिएको आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसी खड्कबहादुर ठाडा मगरको सालिक तोडफोड प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवर रहेका छन्। पार्कभित्र रहेका दुवै सालिकमा तोडफोड गरी क्षति पुर्याएको आरोपमा प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति करिब १०ः३० बजे रिस्ती खोलाको पुलनजिक रहेको भानु घाँसी संवाद पार्कभित्र प्रवेश गरी अज्ञात व्यक्तिले दुवै सालिकमा तोडफोड गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै तोडफोडमा संलग्न व्यक्तिको पहिचान तथा खोजी तीव्र पारेको थियो। अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा कुँवरलाई इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले साउन ८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याई घटनाबारे थप सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार कुँवरविरुद्ध आपराधिक उपद्रव मुद्दामा लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले सालिक तोडफोडको वास्तविक कारण, घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको र घटनाको सम्पूर्ण पाटोबारे अनुसन्धान अघि बढाएको जनाएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पार्कमा स्थापित सालिक तोडफोड भएपछि घटनालाई गम्भीर रूपमा लिइएको छ।















