हेडलाईनव्याससमाचारसाहित्यगण्डकी

व्यास जन्मभूमिमा गुरुपूर्णिमा र व्यास जयन्तीको रौनक, दमौलीमा धार्मिक–प्राज्ञिक कार्यक्रम सुरु

प्रहार समाचार । तनहुँ, १३ साउन २०८३ बुधबार । गुरुपूर्णिमा तथा व्यास जयन्तीका अवसरमा तनहुँको दमौलीस्थित व्यास जन्मभूमिमा धार्मिक, सांस्कृतिक तथा प्राज्ञिक गतिविधि सुरु भएका छन्। आषाढ शुक्ल पूर्णिमाका दिन गुरुको सम्मान र महर्षि वेदव्यासको स्मरण गर्दै व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष, बेद अनुयायी प्रतिष्ठान लगायतको आयोजनामा तीनदिने कार्यक्रम सञ्चालन गरिएको हो। आज बिहान अनसन चौतारीबाट बाजागाजा, झाँकीसहित भव्य शोभायात्रा सम्पन्न भएको छ । न

व्यास नगरपालिका परिसरमा रहेको महर्षि व्यासको सालिकमा माल्यार्पण तथा पूजा–अर्चना गरी बजार परिक्रमा गर्दै व्यास गुफामा विशेष धार्मिक प्रवचन गरिने कार्यक्रम सुरु भएको छ। गुरुपूर्णिमालाई वेदव्यास जयन्तीका रूपमा समेत मनाइने परम्परा अनुसार दमौलीलाई महर्षि वेदव्यासको जन्मस्थल मानिने भएकाले यहाँ विशेष उत्साहका साथ पर्व मनाइँदै आएको छ।

सेती र मादी नदीको संगमस्थित व्यास गुफामा बसेर महर्षि वेदव्यासले वेद, पुराण तथा अन्य धार्मिक ग्रन्थहरूको रचना गरेको धार्मिक विश्वास रहिआएको छ। गुरुले अज्ञानको अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने भएकाले हिन्दू परम्परामा गुरुको स्थान ब्रह्मा, विष्णु र महेश्वरसरह मानिने धार्मिक मान्यता छ।कार्यक्रमअन्तर्गत दोस्रो दिन व्यास नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय ‘महर्षि वेदव्यास र व्यास जन्मभूमि’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई क्रमश ७ हजार, ५ हजार, ३ हजार तथा सान्त्वना १ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराइले जानकारी दिए।

व्यासका अध्येता तथा संरक्षक काशीनाथ न्यौपानेले यस्ता धार्मिक तथा प्राज्ञिक गतिविधिले व्यास जन्मभूमिको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सहयोग पुग्ने बताए।यसै अवसरमा देवघाटस्थित महेश सन्यास आश्रमले आज ‘व्यासपूजन एवं गुरुपूजन’ कार्यक्रम आयोजना गरेको छ भने साउन १४ गते ‘गुरुस्मृति सभा तथा समष्टि भण्डारा’ सञ्चालन गर्ने जनाएको छ।

धार्मिक तथा प्राज्ञिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रममा सहभागी हुन आश्रमले भक्तजन तथा श्रद्धालुहरूलाई आग्रह गरेको छ। यस्तै गलेश्वर आश्रम र हरिहर आश्रममा पनि गुरुपूर्णिमाका अवसरमा गुरुपूजन तथा सम्मान कार्यक्रम सम्पन्न भइरहेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button