हेडलाईनसमाचारगण्डकी

लमजुङको उदिपुर–भकुण्डे–राक्सेखोला वैकल्पिक सडकका लागि थप २ करोड बजेट

• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, १२ साउन २०८३ मंगलबार । डुम्रे–बेसीसहर सडकखण्ड वर्षेनी पहिरो तथा प्राकृतिक विपद्का कारण पटक–पटक अवरुद्ध भइरहँदा यसको दीर्घकालीन विकल्पका रूपमा हेरिएको लमजुङको उदिपुर–भकुण्डे–राक्सेखोला वैकल्पिक सडक निर्माणका लागि थप २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रतिनिधिसभा सदस्य धर्मराज केसी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भोला शर्माको पहलपछि उक्त बजेट सुनिश्चित भएको जनाइएको छ। बेँसीसहर नगरपालिका–२ का वडा अध्यक्ष मदन रानाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आफूहरूले विगतदेखि अघि सारेको वैकल्पिक सडकको अवधारणाले अहिले मूर्त रूप लिन थालेको बताएका छन्। उनले सडकका लागि बजेट सुनिश्चित गर्न पहल गर्ने प्रतिनिधिसभा सदस्य केसी, नेता शर्मा तथा स्थानीय तहबाट निरन्तर आवाज उठाउने सबै पक्षप्रति आभार व्यक्त गर्दै विकासको मुद्दालाई निरन्तर उठान गर्ने व्यक्तिहरूको प्रशंसा गरेका छन्।

उदिपुर–भकुण्डे–राक्सेखोला सडक केवल स्थानीय आवश्यकतामा सीमित नभई बेँसीसहर–मनाङ सडक अवरुद्ध भएका बेला प्रयोग गर्न सकिने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा हेरिएको छ। सडकको स्तरोन्नतिले विपद्का समयमा आवागमनलाई सहज बनाउनुका साथै लमजुङ र मनाङ जिल्लाबीचको यातायात, आपूर्ति प्रणाली, पर्यटन प्रवर्द्धन तथा आर्थिक–सामाजिक गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ। यस्का साथै भविष्यमा दुवै जिल्लाको जनजीवन सहज बनाउने, पर्यटन क्षेत्रलाई बल पुर्‍याउने तथा विकासका नयाँ सम्भावना विस्तार गर्ने विश्वास गरिएको छ। प्राविधिक तयारी र निर्माण प्रक्रियालाई तीव्रता दिई योजनालाई समयमै सम्पन्न गर्नुपर्नेमा स्थानीयवासीले समेत जोड दिएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button