प्रहार समाचार । तनहुँ, १२ साउन २०८३ मंगलबार । देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा भवानीप्रसाद तिमिल्सेना नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साउन १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार देवघाट क्षेत्र विकास समिति (गठन) आदेश, २०५० को दफा ३ को उपदफा (२) बमोजिम तिमिल्सेनासहित सात सदस्यीय समिति दुई वर्षका लागि गठन गरिएको हो।

नवनियुक्त अध्यक्ष तिमिल्सेना देवघाट गाउँपालिका–५ निवासी तथा चक्रवर्ती मणिमुकुन्दसेन मन्दिर तथा आश्रमका अध्यक्षसमेत हुन्। समितिका सदस्यमा देवघाट गाउँपालिका–५ का केशबहादुर गुरुङ र नरबहादुर ढुङ्गाना, भरतपुर–१ चितवनका युवराज खत्री क्षेत्री, रत्ननगर–९ का निर्मल पौडेल, देवचुली–६ नवलपुरका हरिप्रसाद पराजुली तथा गैंडाकोट–८ का तारानाथ सुवेदी नियुक्त भएका छन्। समितिको कार्यक्षेत्र तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको भएकाले तीनवटै जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ।

नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई सोमबार देवघाट क्षेत्र विकास समितिको कार्यालयमा पदस्थापन गराइएको छ। यसअघि नियुक्त अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशकलाई वर्तमान सरकारले गत जेठ १९ गते पदमुक्त गरेको थियो। तत्कालीन अध्यक्ष इश्वरीराज लौडारीको कार्यकाल त्यससँगै समाप्त भएको हो। हाल समितिको कार्यकारी निर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले सम्हालिरहेका छन्।

नेपालकै प्रमुख धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक तीर्थस्थलका रूपमा परिचित देवघाटधामको संरक्षण, व्यवस्थापन र धार्मिक पर्यटन प्रवर्द्धनको जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको छ। तीर्थयात्रीलाई थप व्यवस्थित, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै देवघाटधामको ऐतिहासिक तथा धार्मिक गरिमालाई थप उचाइमा पुर्याउने अपेक्षासहित नयाँ नेतृत्वले कार्यसम्पादन गर्ने विश्वास गरिएको छ।















