प्रहार समाचार । लमजुङ, १२ साउन २०८३ मंगलबार । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले दुईतले धन्सार पुरिँदा बाबु–छोरीको ज्यान गएको छ भने आमा–छोरी घाइते भएका छन्।

मंगलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा–माटोले बनेको कच्ची दुईतले धन्सार पूर्ण रूपमा भत्किँदा भित्र रहेका चार जना पुरिएका थिए।जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बिहान २ः४० बजे घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा ११ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी, स्थानीयवासी र अन्य सरोकारवालाको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंकु स्वास्थ्य चौकी, रामबजार लगिएको थियो।

अवस्था गम्भीर देखिएपछि उनीहरूलाई थप उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल रिफर गरिएको थियो।उपचारकै क्रममा मर्स्याङ्दी गाउँपालिका–१ नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५९ वर्षीय टिकबहादुर विक र उनकी १५ वर्षीया छोरी विनिता विकलाई चिकित्सकले बिहान ५ः५५ बजे मृत घोषणा गरेका हुन्। घटनामा ५० वर्षीया शुकमाया विक र १६ वर्षीया अस्मिता विक घाइते भएका छन्। दुवै जनाको शरीरमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
उनीहरूको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको जनाइएको छ।प्रहरीका अनुसार कुलो भत्किएपछि आएको पहिरोका कारण धन्सार पूर्ण रूपमा भत्किँदा उक्त मानवीय क्षति भएको हो। घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ भने पहिरो आउनुको कारण, कुलो भत्किनुको अवस्था तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।















