प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलवार । तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक तथा आध्यात्मिक रूपमा जोड्ने उद्देश्यले नयाँ भक्ति भजन ‘कृष्ण कृष्ण’ सार्वजनिक गरिएको छ। स्थानीय धार्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र धार्मिक पर्यटन प्रवर्धनलाई मुख्य आधार बनाएर तयार पारिएको भजनले व्यास–पराशर क्षेत्रको धार्मिक महत्त्वलाई नयाँ पुस्ता तथा देश–विदेशसम्म पुर्याउने प्रयास गरेको छ।

व्यासभूमिका अध्येता तथा लेखक काशीनाथ न्यौपानेको विशेष प्रस्तुति तथा शब्द रचनामा तयार भएको भजनको निर्देशन बि.बि. क्षेत्रीले गरेका छन्। भजनमा वैष्णव परम्पराको प्रसिद्ध महामन्त्र ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे’ लाई समेत भक्तिमय शैलीमा प्रस्तुत गरिएको छ। धार्मिक आस्था र आध्यात्मिक भावनालाई स्थानीय इतिहास तथा सांस्कृतिक पहिचानसँग जोडेर भजन तयार गरिएको निर्माण पक्षले जनाएको छ।‘कृष्ण कृष्ण’मा गायिका समीक्षा अधिकारी र गायक नवराज थापाको स्वर रहेको छ। भजनलाई गत भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकप्रति समर्पित गरिएको छ। विपत्तिबाट प्रभावित नागरिकको पीडामा आत्मिक शान्ति, धैर्य र सकारात्मक ऊर्जा प्रदान गर्ने सन्देश भजनमार्फत दिन खोजिएको निर्माण पक्षको भनाइ छ।
भजनले तनहुँको व्यास गुफा र पराशर आश्रमको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत उजागर गरेको छ। पौराणिक मान्यताअनुसार व्यास ऋषिको तपोभूमिका रूपमा चिनिने व्यास गुफा र पराशर ऋषिको साधना क्षेत्रका रूपमा मानिने पराशर आश्रमको धार्मिक महिमालाई गीत तथा दृश्य प्रस्तुतिमार्फत जोड्ने प्रयास गरिएको छ। यी दुई धार्मिक क्षेत्रबीच रहेको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई आम मानिससम्म पुर्याउने उद्देश्यसमेत भजनले बोकेको छ।भजनको भिडियोमा सुदिप पौडेल, स्वस्तिका अर्याल, नवराज थापा र कोपिला थापाको अभिनय रहेको छ। भिडियोको छायाङ्कन तथा सम्पादन सुसन पन्थले गरेका छन्। धार्मिक भावनासँगै स्थानीय भूगोल, संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेटेर तयार पारिएको भिडियोले व्यास–पराशर क्षेत्रको दृश्यात्मक पहिचानलाई समेत प्रस्तुत गर्ने प्रयास गरेको छ।निर्माण पक्षले ‘कृष्ण कृष्ण’लाई केवल भक्ति भजनका रूपमा मात्र नभई तनहुँको धार्मिक तथा सांस्कृतिक सम्पदाको परिचय गराउने माध्यमका रूपमा लिएको जनाएको छ।
विशेषगरी ओझेलमा परेका धार्मिकस्थलको संरक्षण, प्रचार–प्रसार तथा स्थानीय धार्मिक पर्यटनको विकासमा भजनले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। व्यास र पराशर क्षेत्र धार्मिक आस्था, पौराणिक विश्वास, इतिहास र प्राकृतिक सौन्दर्यका दृष्टिले तनहुँका महत्वपूर्ण सम्पदा मानिन्छन्। यस्ता क्षेत्रको पहिचानलाई सिर्जनात्मक माध्यमबाट देश तथा विदेशसम्म पुर्याउने प्रयासले धार्मिक पर्यटनको सम्भावना उजागर गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। ‘कृष्ण कृष्ण’ले व्यास–पराशर क्षेत्रलाई आध्यात्मिक आस्था र सांस्कृतिक पहिचानको साझा धरोहरका रूपमा स्थापित गर्न भूमिका खेल्ने अपेक्षा निर्माण पक्षले गरेको छ।
















