हेडलाईनसमाचारबागमती

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपास सडकसम्मको अध्ययन हुने

प्रहार समाचार । काठमाडौं, १६ भदौ २०८३ मङ्गलवार । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल हिलसाइडमा संरचना निर्माण गरी त्यसमाथिबाट सवारीसाधन सञ्चालन गर्ने तयारी अघि बढाइने भएको छ। पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विषयमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले विपद् प्रभावित क्षेत्र तथा राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको हो।

ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ राख्ने तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कामसमेत अघि बढाइने मन्त्रालयले जनाएको छ। कृष्णभीरको पहिरो समस्याको दीर्घकालीन समाधानका लागि भने टनेल, सोइल नेलिङ र सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने भएको छ। यससँगै कृष्णभीरको विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माण गर्न सकिने सम्भावित स्थान र विकल्पको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।

दीर्घकालीन समाधानका विकल्प पहिचान तथा प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ। आवश्यकताअनुसार सोसाइटी र सडक विभागबीच समझदारीपत्र (एमओयू) गर्ने तयारीसमेत गरिएको छ। मन्त्रालयका अनुसार तत्काल सडक सञ्चालनलाई प्राथमिकता दिँदै अस्थायी संरचना निर्माण अघि बढाइने र त्यससँगै कृष्णभीरको पहिरो समस्याको स्थायी समाधानका लागि प्राविधिक अध्ययन तथा वैकल्पिक सडकको कामलाई अघि बढाइनेछ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button