‘विद्यालय शिक्षामा सक्षम जनशक्ति भित्रिउन् भन्ने मुख्य अभिप्राय नै शिक्षक आन्दोलनको हो। यसलाई शिक्षकहरू पढाउन छाडेर आन्दोलन गरेको भन्ने केहीको बुझाइ रहेको छ। त्यो अवश्य होइन । कानुन बनाऊ राम्रोलाई वृत्ति विकास गर र कमजोर गर्नेलाई कारबाही गर भन्ने आन्दोलनकर्ता शिक्षकहरूको माग हो।’ भन्दै शिक्षक सुरज लम्साल लेख्छन् :

शिक्षक आन्दोलन सामुदायिक विद्यालयकाे सुधारका लागि होस् भनेर गरिएको आन्दोलन हो। यसमा शिक्षकको मर्यादाक्रम, स्थायित्वदेखि वृत्ति विकाससम्मका कुराहरू समेटिएका छन्। यसले शिक्षक मात्र प्रभावित हुने होइन समग्र शिक्षा प्रणालीमा सुधार ल्याउनु हो।

आजका शिक्षक सधैँ शिक्षक हुने होइन भोलि निवृत्त हुन्छन् र नयाँ शिक्षकहरू प्रवेश गर्छन् ती नयाँ प्रवेश गर्ने शिक्षकहरू योग्य र सक्षम हुन्, विद्यालय शिक्षामा सक्षम जनशक्ति भित्रिउन् भन्ने मुख्य अभिप्राय नै शिक्षक आन्दोलनको हो। यसलाई शिक्षकहरू पढाउन छाडेर आन्दोलन गरेको भन्ने केहीको बुझाइ रहेको छ। त्यो अवश्य होइन । कानुन बनाऊ राम्रोलाई वृत्ति विकास गर र कमजोर गर्नेलाई कारबाही गर भन्ने आन्दोलनकर्ता शिक्षकहरूको माग हो। कोही शिक्षकहरू पनि हुनुहुन्छ यो कानुन बन्यो भने हामीले राम्रो गरेनौ भने कतै कारबाही परिने पो हो कि भन्ने डर होला सायद आन्दोलनमा निस्कन सकिरहनु भएको छैन वा ऐक्यबद्धता समेत व्यक्त गर्न हिच्किचाइरहनुभएको छ। असक्षम भए कानुन बमोजिम गुणस्तरीय शिक्षा दिन नसके कारबाही भोग्न तयार हुनुपर्छ ।

आज काठमाडौँ केन्द्रित आन्दोलनमा जति सहभागी हुनुभएको छ, काठमाडौँ जान नसकेपनि आर्थिक र नैतिक समर्थन गर्नुभएको छ उहाँहरू सबै सक्षम हुनुहुन्छ र भोलि गुणस्तरीय शिक्षा दिन तयार हुनुहुन्छ र नसके सजायको भागीदार हुन पनि तयार हुनुहुन्छ। जो शिक्षकहरू आन्दोलनप्रति उदासीन हुनुहुन्छ । उहाँहरूप्रति यहाँ भन्दा भन्नु अरु केही छैन्। साथै सम्पूर्ण अभिभावक एवं सरोकारवाला हरूमा शिक्षकहरूले आफूले राम्रो नपढाउने र तलबका लागि आन्दोलन गर्ने भन्ने बुझ्नुभएको छ भने त्यो होइन ।

भोलि तपाईँका सन्तान पनि र आजका विद्यार्थी तपाईहरू पनि भोलि शिक्षण पेशामा प्रवेश गर्न सक्नुहुनेछ त्यतिबेला तपाईंलाई सम्मान बोध हुनेगरी आजै कानुन ल्याउँ भनिएको । आजका अग्रज संसद् , डक्टर, इन्जिनियर, उद्यमी लगायत सम्पूर्ण पेशामा लाग्नुहुने तपाईंका सन्ततिहरूलाई शिक्षण गर्ने शिक्षकहरुलाई सक्षम र दक्ष बनाउँ र शिक्षण पेशा आकर्षण बनाउँ भन्नको लागि गरिएको आन्दोलन हो।

हाम्रा मागहरूसँगै गुणस्तरीय शिक्षा नदिएमा वा कार्यसम्पादन राम्रो नभएमा कानुन सम्मत तरिकाले कारबाही गर्ने अधिकार यहाँहरुले पाउनु नै हुनेछ त्यसमा शिक्षक पछाडि हटेका छैनन् । विरोध गरेका छैनन् । आउनुहोस् सबै मिलेर राम्रो र सक्षम शिक्षा ऐन ल्याउँ। यसका साथै निजी विद्यालय सञ्चालकज्यूहरू तपाईँहरू पनि नेपालको शिक्षा विकासको एक मेरुदण्ड हुनुहुन्छ। तपाईंहरूको योगदान आफ्नो ठाउँमा सकारात्मक नै रहेको हामीले महसुस गरेकै छौं। अहिले शिक्षकहरू आन्दोलनमा हुमिएको मौकालाई अवसरको रुपमा लिएर सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलन गरेर हिँडिरहेका छन्। उनीहरूले पढाउँदैनन् हाम्रो निजीमा ल्याउनुहोस् भनेर भनिएका खबरहरू पनि यदाकदा सुन्नमा आएको छ।
यो साँचो हो जस्तो लागिरहेको छैन्। यदि यो साँचो हो भने कृपया भ्रम नछर्नुहोला। हजुरहरुले राम्रो गर्नुभयो भने विद्यार्थी आफै आकर्षित हुनेछन् । हामी सामुदायिक शिक्षकहरूले राम्रो गर्यौँ भने हाम्रोतिर आकर्षित हुनेछन् । आउनुहोस् सँगै आन्दोलन गरौँ। यहाँ हरूलाई पनि हुने किसिमको शिक्षा ऐन ल्याउँ। हामी सबैको उद्देश्य भनेको नेपालको शिक्षा सुधार गर्नु हो। यसका साथै सरकारमा रहनुहुने नेतृत्वगणहरू तपाईँहरूलाई यो अवसर हो। शिक्षकको आन्दोलन ले सृजित गरेको अवस्थालाई मनन गरी शिक्षा ऐन जारी गर्नुभयो भने देशको शिक्षा सुधार भयो भने तपाईहरुको राजनीतिक प्रतिष्ठा नै बढ्ने हो। यसमा फाइदा हामी शिक्षकलाई भन्दा पनि तपाईहरुलाई नै बढी भएको हुनाले समय ढिला नगरी तत्काल विशेष अधिवेशनबाट वा दलीय सहमतिबाट अध्यादेश मार्फत यसको निकास दिनुहोस्। यसलाई सदैव नअल्झाइ राखौँ। देश शिक्षा विकासको माध्यमबाट सुधारौँ एक अर्काको मागको रुपमा नलिई हामी सबैको मागको रुपमा बुझ्दै निकासमा अघि बढौं।
( लम्सालको यो लेख हामीले उहाँको फेसबुक पेजबाट लिएका हौँ – सम्पादक )

























