गणतान्त्रिक सपनाको त्यो बिष कस्ले फलाएछ, बुझिँदैछ बिस्तारै,
बर्सौ देखि देशको ढुकुटी कस्ले चलाएछ, बुझिँदैछ बिस्तारै।
गरिबी अभाव र बिपन्न बस्ति बिदेशमा बेच्दै बेच्दै खाए,
विरासत गरिमा यो देशको कस्ले ढलाएछ, बुझिँदैछ बिस्तारै।

स्याल, गिद्द, ब्वाँसा, जुका सिनो खाने बेलामा मात्र मिल्छन,
आर्थिक संकटको रोगमा देश कस्ले थलाएछ, बुझिँदैछ बिस्तारै।
बिरालोलाई दूध रुङ्न पठाउने तैँ मैँ सैँ पनि उस्तै त हो नि,
मुसा तिर्थ लान्छु भन्दै ढाडेको कस्ले छलाएछ, बुझिँदैछ बोस्तारै।
अन्नको मानो छैन, छानो छैन, गरिविको हेर आँखा ओभानो छैन्,
मैखाउँ मैलाउँमा दानव मनको कस्को पलाएछ, बुझिँदैछ बिस्तारै ।
मुक्तिकामी संघर्ष पछि सुनौलो क्षितिज भन्दै विष पिलाए,
स्वार्थ सिद्ध गर्न बबुरा जन्ता कस्ले चलाएछ, बुझिदैछ बिस्तारै।
कुर्ची चढ्ने भर्याङ बनाए, ती जनताको रगतले होली मनाए,
भुईमान्छे, मज्दुर, सर्वहारा किशानलाई को कस्ले दलाएछ, बुझिँदैछ बिस्तारै ।
पुस्तौंलाई धन थुपारी पुगेन अझै ? आजिवन सुबिधा चाहियो ???
अगस्ती ती टाउके को कस्को प्वाँख पलाएछ, बुझिँदैछ बिस्तारै ।
• तनहुँ ।