
वि.सं. १८३९ कार्तिक १७ गतेका दिन गोरखाली सेनाले ताकुकोट माथि विजय प्राप्त गरे पछि लमजुङका राजा वीरमर्दन शाह र तनहुँका राजा हर कुमारदत्त सेन लमजुङबाट मनाङ हुँदै थोरङपास गरी मुस्ताङ हुँदै पर्वत पुगे भन्ने कुरा अलि भर योग्य देखिं दैन । पैदलै यात्रा गर्नु पर्ने अवस्थामा राजाहरु मरस्याङदी करिडरको अप्ठ्यारो पार गर्दै मनाङ पुगेको विषय सोच्नै पर्ने छ भने हिउँदको महिनामा थोरङमा प्रसस्त हिउँ परी आवत जावत गर्ने मार्ग हुँदै मुस्ताङ पुग्न असमर्थ नै देखिन्छ । ५⁄६ महिना सम्म मनाङको कुनै स्थानमा आधारसिविर बनाइ बसे भन्ने प्रमाणको छनक भेटिदैन् । यसैले यी दुवै राजा लमजुङकै साविक सिंदुर गाउँ पालिकाको मनाङ जिल्लाको अतिरिक्त मनाङडाँडा नाम गरेका स्थानहरु लमजुङको सुन्दरबजार न.पा. ११ र बागलुङको काठेखोला गाउँपालिका वडा नं. १ मा भेटिएका छन् । हाल सुन्दरबजार नगरपालिका वडा नं. ११ मा स्थित मनाङडाँडा हुँदै भोर्लेटार रामबजार हुँदै वीरमर्दन शाह कास्कीको बाटो पर्वत पुगेको र तनहुँका राजा हरकुमारदत्त सेन मादीको करिडर हुँदै पोखरीभञ्ज्याङ, केशवटार, सुखौरा शेराटार ( हाल बन्दीपुर नगरपाकिा वडा नं. २ स्थित गोलडाँडा ) पुगेको मान्न सकिन्छ । गाउँ शहरबाट तनहुँसुर नपसी भाग्दै भाग्दै गोलडाँडा आइ पुगेका राजा हरकुमारदत्त सेनसंग खर्चको अभाव भइ उनले गोलडाँडा भन्ने स्थानमा वि.सं. १८३९ मार्गवदी रोज ४ मा रु ३२७ / लिएको रजवन्धकी – पत्र फेला परेको छ भने लमजुङ र तनहुँमा कहाँ कहाँ गोलडाँडा छन भन्ने बुझ्ने क्रममा लमजुङमा गोल डाँडा नभै कोलडाँडा भेटिएको र आचर्य पण्डित कृष्णकान्त शाण्डिल्यान अनुसार तनहुँतर्फ साविक भिरकोट १ को हाल ऋषिङ गाउँपालिका वडा नं. ६ भिरकोटमा गोरेडाँडा रहेको पाइन्छ भने बन्दपुर गाउँपालिका वडा नंं २ निवासी खेम खत्रीका अनुसार बन्दीपुर गाउँपालिका वडा नं. २ को थरुवास भन्दा केही तल र पार्चे भन्दा केही उत्तरतर्फ ऐतिहासिक गोलडाँडा रहेको बताउनु भयो । अन्ततः तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले यही गोलडाँडाबाट जारी गरेको रजबन्धकी – पत्र निम्नानुसार रहेको पाइन्छ ।
स्वस्ति श्रीश्वरचरणसरोरुहस्मरणेत्यादि श्रीमद्रामचन्द्रव्रशोदभव सदा समाराधित शाम्वशिव लक्ष्मीनारायण श्रीमन्महाराजाधिराज श्री श्री श्री श्री श्रीमतहरकुमारदत्तसेनदेवानाम् सदा समरविजयीनाम् आगे, बलभद्र गोली (गौली) बे बाँधाबक्सल ज्याम्रुक मध्ये महारुद्र अधिकारीको षायल षेतमुरी ५० औ षवारीबोधा (ट्या) मध्ये षेतमुरी २० तेकर रुपैया सिक्क ३२७ अक्षरेपि तीनसय सत्ताइस तेकर हिंजो बाँधा पाया मध्ये रहलपहल डिहि लग्गा समेत बाँधा कै के बकसल , आपने बाँधा जानिके अंवल करहु षाहु बसहु बसाहु आर्सिवाद देहु मिति संवत १८३९ मार्ग वदी ४ रोज १ मुकाम् गोलडाँडा।
माथिका रजबन्धकी—पत्र अध्ययन गर्ने हो भने तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले आफु प्रशासक भै बसेको बन्दीपुर खण्डको पहिचान राम्रै भएको बुझिन आउँछ । यसैले तनहुँको बन्दिपुर थरुबास दक्षिणको जुमडाँडा नजिकका गोलडाँडाको े गोलचौतारमा आइबसेको सत्यताको नजिक हुन आउँछ । यस प्रमाणका आधारमा राजा हरकुमारदत्त सेन मनाङ, मुस्ताङ हँदै पर्वत गए भन्ने कुराले पुष्टि गर्दैन भन्न सकिन्छ । हुन पनि राजा त्रिविक्रम सेन र बन्दीपुर निवासी नेवारहरुको मिलिभगतमा बन्दीपुर बजारलाई “ ५ वटा हात्तीहरु एकै पंक्तिमा संगसंगै हिंड्न सक्ने फराकिलो बजार छ “ भन्ने कुरा चितवनकै एक थारु युवाले आफ्ना पूर्वज बाट सुनेको भनाइ डा. विष्णु बहादुर भण्डारीले बन्दीपुरकी आरध्यदेवी खड्गदेवी पुस्तक – माला फूलझै सिउरेर राख्नु भएको छ । तिनै थारुहरुले चितवनबाट बन्दीपुरमा हात्ती लिएर आउँदा बास बसेको स्थान हुनाले अहिले पनि बन्दीपुरको दक्षिण तथा भूमर्सेको उत्तरमा थरुवास भन्ने स्थान आज पनि जीबन्त रहेको छ । राजा हरकुमारदत्त सेनले त्यही बेला देखि गोलडाँडा समिप रहेको मनचौतारा मुनीको दोबाटोमा चामुण्डादेवीलाई बलिको बोको अर्पण गर्ने र खड्गदेवीको शोभा यात्रामा लगिने फूलको डोलीमा राखिने फूलहरु षष्ठीका दिनमा टिपेर यही संकलन गरेर राख्ने र भोलिपल्ट सप्तमीका दिन हुने खड्गदेवी फूलपाती शोभायात्रामा लैजाने परम्परा यथावत रहको पाउँदछौं ।
(बस्न्यात तनहुँमा रहेर ऐतिहासिक, धार्मिक, सांस्कृतिक , पुरातात्विक विषयमा कलम चलाउने लेखक हुन्। )
























