हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकास्वास्थ्य

तनहुँमा दुई चरणमा खोप अभियान : १४ हजार बढी बालबालिकालाई  खोप लगाइने

प्रहार समाचार । तनहुँ , जेठ ८ । तनहुँमा यस वर्ष  १४ हजार भन्दा बढी बालबालिकालाई दुई चरणमा पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ ।  यही जेठ १४ देखि २८  गतेसम्म  खोप लगाईने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

पहिलो चरण जेठ १४ देखि २० गते सम्म व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिक, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकाका ३८ वटा वडामा  खोप लगाईने छ । दोस्रो चरणमा जेठ २२ गते देखि २८ गते सम्ममा भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, र घिरिङ गाउँपालिकाका ४७ वटा वडामा खोप लगाइने छ । कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा दुई सय ९० खोप केन्द्र निर्धारण गरी चार सय ६५ जनशक्ति परिचालन गरिएको  स्वास्थ्य कार्यालयका प्रमुख डा.विद्या तामाङले जानकारी दिइन्।
जिल्लाका १० वटा पालिकामा १४ हजार चार सय ६५ बालबालिकालाई खोप लगाउन आवश्यक तयारी थालिएको छ।
खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।  विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ ।सोहीअनुसार तनहुँमा पनि यो अभियान सञ्चालन गरिएको विश्व स्वास्थ्य संगठन आइडिपी पोखरा सर्भेलेन्स तथा इमुनाइजेसन मेडिकल अफिसर
डा.रामु शर्माले बताए ।


स्वास्थ्य कार्यालयले मङ्गलबार खोप समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला निकायसँग पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमसम्बन्धी अन्तरक्रियासमेत आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख वासुदेव थापाले जनचेतनाको अभावले बालबालिका छुट्न सक्ने हुँदा खोपको महत्वको बारेमा प्रचार प्रसारमा गरिनु आवश्यक रहेको बताए ।

नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना छ । पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने स्वास्थ्य कार्यालय तनहुँका अधिकृत शंकरबाबु अधिकारीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button