म सानो छँदा गाउँघरमा हङ्कङ मलायको लाहुरे वा भारतीय सेनाको फैजी र उसको घरपरिवारको बिछोडका गीतहरू घन्किन्थे। तर आज विदेशीने नेपालीको परिस्थिति फेरिएको छ। आज कि त खाडीमा कि त युरोप अमेरिकामा छन् नेपालीहरू।
खाडीमा भएकाको दुख अर्कै छ भने पश्चिममा भएकाको यथार्थ अर्कै छ। तर परदेशी सबैको समान भावना भनेको राम्रो अवसरको खोजी गर्ने, धन संचय गर्ने र आफ्नो घरपरिवारलाई राम्रो भविष्य दिने हो। अमेरिकाको टेक्सासमा भए पनि, फ्रान्सको पेरिसमा भए पनि, जापानको टोकियोमा भए पनि वा मलेसियाको क्वालालम्पुरमा भए पनि नेपालमा चाड आउँदा, अझ तिहार जस्तो झिलिमिली रौनक भएको चाड आउँदा कुन परदेशीको मन रूदैन होला र कुन परदेशीको परिवार पूर्ण हर्षित हुन्छ होला र?
आज प्राय नेपालीको घरबाट कोहि न कोहि विदेशमा छन् । बाहिर झिलिमिली भए पनि भित्र सबैको मन खाली छ। म आजकाल सोच्छु , नेपाललाई प्राकृतिक रूपमा यति सम्पन्न बनाएर पनि किन धनकि देवी लक्ष्मीको साधारण नेपाली माथि कृपा नभएको होला? लक्ष्मी खुसी पार्न बिदेशीनै पर्ने? कहिले लाहुरे बनेर, कहिले मजदुर बनेर त कहिले जान्ने बुझ्ने बुद्दिजिबी भएर? मेरो देवी लक्ष्मीसँग प्राथना छ, सबै नेपाली घर फर्किने वातावरण बनोस्, देशमै केहि गर्ने वातावरण बनोस्, धन कमाउन विदेश जानु पर्ने बाध्यताको अन्त्य होस्।
तिहारको सबैलाई शुभकामना 🙏
( पाण्डे Wageningen Univercity Netherland मा Phd गर्दै छन् ।)






















