प्रहार समाचार । तनहुँ, कार्तिक २८ मंगलबार ।
तिहारको चौथो दिन आज गोवर्द्धन पर्वतको पूजा गरेर मनाइँदै छ । यसका साथै आजनै बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिइन्छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन पर्वत, बली राजा, कृषि कार्यमा जमिन जोत्न प्रयोग गरिने गोरु र जोत्ने कृषक हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ।
आज प्रत्येकले आ-आफ्नोघर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्दै छन् । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्।
भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन पनि रहेको छ ।






















