हेडलाईनसमाचारबागमती

‘सेलिब्रिटी’ जंगली हात्ती रोनाल्डोको अन्त्य, ५३ वर्षको उमेरमा निकुञ्जमै मृत भेटियो

प्रहार समाचार । चितवन, ३ असोज २०८३ शनिबार । चितवनको सौराहा–खोरसोर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत विषहजारी पोस्टनजिकै रोनाल्डो मृत भेटिएपछि निकुञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

करिब ५३ वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको मृत्युको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन। निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार रोनाल्डोको मृत्युको कारण तत्काल यकिन गर्न सकिने अवस्था छैन। घटनास्थलमा देखिएका अवस्थाका आधारमा आवश्यक अनुसन्धान भइरहेको र पोस्टमार्टम तथा थप परीक्षणपछि मात्र मृत्युको कारण स्पष्ट हुने उनले बताए। रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिह्नसमेत देखिएको जनाइएको छ।

सौराहा–खोरसोर क्षेत्रको ‘सेलिब्रिटी’ जंगली हात्तीका रूपमा परिचित रोनाल्डोले हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास लामो समयदेखि आफ्नो प्रभाव जमाएको थियो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनका अनुसार केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको थियो। अन्य हात्तीसँगको पटक–पटकको संघर्षका क्रममा उसले पुच्छरसहित शरीरमा चोटसमेत बेहोरेको थियो। रोनाल्डोको मृत्युले सौराहा–खोरसोर क्षेत्रमा लामो समयदेखि चर्चामा रहेको एउटा परिचित जंगली हात्तीको कथा टुंगिएको छ। तर, उसको मृत्यु प्राकृतिक कारणले भएको हो वा अन्य कुनै कारणले भन्ने प्रश्न भने अनुसन्धानको निष्कर्षसँगै मात्र स्पष्ट हुनेछ। निकुञ्जले अनुसन्धान पूरा भएपछि मृत्युको वास्तविक कारण सार्वजनिक गर्ने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button