प्रहार समाचार । तनहुँ, ४ भदौ २०८३ आइतबार । धार्मिक आस्था र ऐतिहासिक पहिचान बोकेको तनहुँ कालिका मन्दिर परिसर नै फोहोर र झाडीले ढाकिन थालेपछि सामूहिक रूपमा सरसफाइ गरिएको छ। धार्मिक स्थललाई पूजा गर्ने ठाउँ मात्र नभई स्वच्छता र संरक्षणको साझा जिम्मेवारीसँग जोड्दै स्थानीयवासीले श्रमदानमार्फत मन्दिर परिसर सफा गरेका हुन्।

व्यास नगरपालिका–४, दमौलीस्थित मन्दिर परिसरमा लामो समयदेखि जम्मा भएको फोहोरमैला तथा झाडी हटाइएको हो। व्यास–२ दमौली निवासी समाजसेवी हेमलाल श्रेष्ठको सक्रियता तथा स्वास्थ्य अभियन्ता भाग्यशाली ढुंगाना र शंखर टोल अध्यक्ष शोभा न्यौपानेको पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको जनाइएको छ। सहभागीहरूले मन्दिर परिसर, आसपासका क्षेत्र तथा बाटोघाटोमा रहेका फोहोर हटाउँदै श्रमदान गरेका थिए।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थानलाई फोहोर थुपार्ने ठाउँ बन्न नदिन नियमित सरसफाइ र संरक्षण आवश्यक रहेको सहभागीहरूले बताएका छन्। मन्दिरमा पुगेर पूजा गर्ने मात्र होइन, आफू पुगेको स्थान सफा राख्ने संस्कार विकास गर्नुपर्ने सन्देशसमेत अभियानले दिएको छ। कालिका मन्दिरको सौन्दर्य र पवित्रता कायम राख्नु स्थानीयवासी, श्रद्धालु, व्यवसायी तथा सम्बन्धित निकाय सबैको साझा दायित्व भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।




















