प्रहार समाचार । काठमाडौं, ४ असोज २०८३ आइतबार । राजधानी काठमाडौं उपत्यकाको सार्वजनिक यातायात अब रात परेपछि पनि चलायमान हुने भएको छ। साझा यातायातले आजदेखि उपत्यकाका विभिन्न क्षेत्र जोड्ने गरी ६ वटा रुटमा ३० वटा रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउने भएको ल्याएक छ। यससँगै अबेरसम्म काम गर्ने श्रमिक, कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, व्यवसायी तथा अन्य यात्रुलाई राति घर फर्किन सार्वजनिक यातायातको विकल्प थपिएको छ।

संविधान दिवसको अवसर पारेर विस्तार गरिएको सेवाअन्तर्गत भक्तपुरको जगाती–सूर्यविनायक हुँदै ठमेल रुटमा ६ वटा, गोदावरी–बुढानीलकण्ठ रुटमा ६ वटा, रिङरोडमा दुवैतर्फ ८ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा, टाखेल–ठमेल रुटमा २ वटा तथा विमानस्थल–नागढुङ्गा रुटमा ४ वटा बस सञ्चालन हुनेछन्। यसअघि वैशाख १ गतेदेखि नागढुङ्गा–विमानस्थल र लगनखेल–बुढानीलकण्ठ रुटमा सीमित संख्यामा रात्रिकालीन सेवा परीक्षणका रूपमा सञ्चालन हुँदै आएको थियो।
साझा यातायात र स्थानीय तहबीचको सहकार्यमा विस्तार गरिएको सेवाको मुख्य उद्देश्य रातको समयमा सार्वजनिक यातायातको पहुँच बढाउनु हो। काठमाडौं महानगरपालिकाका अनुसार प्रारम्भिक तीन महिनाको परीक्षणपछि गरिएको अध्ययनले सेवा निरन्तरताका लागि स्थानीय तहबीच वित्तीय साझेदारीको विकल्प अघि सारेको थियो। हाल काठमाडौं, ललितपुर, बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमिसहित नौ स्थानीय तह साझा रात्रिकालीन यातायात कार्यक्रममा आबद्ध भएका छन्।
रात्रिबस सेवा राति ८ बजेदेखि सञ्चालन हुने र राति १२ बजेसम्म चल्ने जानकारी साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले दिएका छन्। यात्रुको चाप र आवश्यकताअनुसार सेवा तथा बसको व्यवस्थापन समायोजन गर्न सकिने जनाइएको छ। साझा यातायातले यसअघि सञ्चालन गरेको रात्रिसेवामा राति ८ देखि ११ बजेसम्म बस चलाउँदै आएको थियो।

यस विस्तारसँगै उपत्यकामा रातिको सार्वजनिक यातायातलाई केवल सीमित क्षेत्रको सेवाका रूपमा नभई अन्तरपालिका यातायात सञ्जालका रूपमा विकास गर्ने प्रयास गरिएको छ। काठमाडौं महानगरपालिकाले रात्रिकालीन यातायातलाई उपत्यकाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना अघि सारेको छ। यात्रुले रुट परिवर्तन गरेर विभिन्न गन्तव्यसम्म पुग्न सक्ने र चक्रपथ रुटबाट अन्य रुटसँग जोडिन सक्ने व्यवस्था गरिएको छ।


















