प्रहार समाचार । तनहुँ, ३ असोज २०८३ शनिबार । भदौ महिनाभर तनहुँका विभिन्न स्थानमा सर्पदंशका घटना देखिएका छन्। सर्पदंशपछि उपचारका लागि विभिन्न अस्पताल पुगेका र जिल्ला प्रहरी कार्यालय तनहुँको जानकारीमा आएका घटनाअनुसार एक महिनामा जिल्लाका तीन स्थानीय तहका ८ जना प्रभावित भएका छन्। तस्बिर : साङ्केतिक एआई

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सर्पदंशका घटनामा व्यास नगरपालिकाका १ जना, आँबुखैरेनी गाउँपालिकाका ६ जना र ऋषिङ गाउँपालिकाका १ जना रहेका छन्। उनीहरूलाई सर्पले डसेपछि विभिन्न अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारपछि सबै जना स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका छन्। आँबुखैरेनी गाउँपालिकामा मात्रै ६ जनामा सर्पदंशको घटना देखिनुले उक्त क्षेत्रमा सर्पदंशको जोखिम उल्लेख्य रहेको देखिएको छ।
भदौ महिनामा सर्पदंशका घटना दोहोरिएसँगै ग्रामीण तथा बस्ती आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।सर्पदंशको घटना भएमा समयमै स्वास्थ्य संस्थामा पुर्याउनु महत्त्वपूर्ण हुन्छ। सर्पले डसेको शंका लागेमा घरेलु उपचार, झारफुक वा ढिला नगरी तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकहरूले सुझाव दिँदै आएका छन्। विशेषगरी वर्षायाममा घरवरपरको झाडी तथा फोहोर सफा राख्ने, रातको समयमा हिँड्दा सावधानी अपनाउने र सम्भावित जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन आवश्यक देखिन्छ।

















