• विजय अधिकारी ( संवाददाता ) लमजुङ, ७ भदौ २०८३ आइतबार । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जिल्लाभर कार्यरत ट्राफिक प्रहरी कर्मचारीबीच ‘टी विथ द टिम’ कार्यक्रम सम्पन्न गरेको छ। ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने रणनीति तय गर्ने उद्देश्यले आज आयोजित कार्यक्रममा आगामी कार्यदिशाबारे छलफल गरिएको हो।

ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाको समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणका उपाय, आगामी कार्ययोजना तथा एक साताको कार्यसम्पादनको समीक्षा गरिएको थियो। दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी रणनीति अवलम्बन गर्ने विषयमा समेत व्यापक छलफल भएको कार्यालयले जनाएको छ। कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री, प्रभावकारी र परिणाममुखी बनाउने तथा तालुक कार्यालयबाट प्राप्त नीति र निर्देशनको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा जोड दिइएको थियो। सेवाग्राहीसँग सभ्य, शिष्ट र सेवामैत्री व्यवहार गर्ने, कर्मचारीबीच आपसी समन्वय र सहकार्य बढाउने तथा ‘टिम स्पिरिट’ बलियो बनाउने विषयलाई समेत प्राथमिकतामा राखिएको थियो।

जिल्लाभर कार्यरत ट्राफिक प्रहरी कर्मचारीबीच आत्मीयता, सद्भाव र सहकार्य अभिवृद्धि गर्दै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ। कर्मचारीको मनोबल र उत्प्रेरणा बढाउने, सिर्जनात्मक तथा नवीन कार्यलाई प्राथमिकता दिने र सामूहिक कार्यक्षमतालाई बलियो बनाउँदै नागरिकलाई प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गर्ने आगामी कार्यदिशा तय गरिएको कार्यालयले जनाएको छ।















