प्रहार समाचार । तनहुँ, ७ भदौ २०८३ आइतबार । पर्यटन, कृषि र स्थानीय अर्थतन्त्रलाई एउटै संरचनासँग जोडिएको तनहुँको नारेश्वरताल यतिबेला यस क्षेत्रको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुन थालेको ह छ । व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गरिएको नारेश्वर तालले पर्यटक आकर्षित गर्ने, उनीहरूको बसाइ लम्ब्याउने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने तथा कृषिका लागि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य बोकेको छ।

यहाँ रहेको प्राकृतिक वनस्पति नारेश्वर रुखको नामबाट नामाकाण गरिएको प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशले भरिएको नारेश्वर ताल निर्माण भएपछि यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर भएको स्थानीयको भनाइ छ। २८ रोपनी क्षेत्रफल भन्दा बढि भूभागमा फैलिएको ताल ३ सय मिटर लामो छ। यसको चौडाइ २८ देखि ६८ मिटरसम्म रहेको छ भने औसत गहिराइ करिब ३.५ मिटर छ। कंक्रिट ग्राभिटी ड्याम संरचनामा निर्माण गरिएको तालमा अधिकतम ३० हजार घनमिटर पानी सञ्चय गर्न सकिने क्षमता रहेको छ। क्षेत्रको पर्यटन सम्भावनालाई सुरुदेखि नै पहिचान गरी ताल निर्माणको अवधारणा अघि बढाइएको हो।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रकृतिको संरक्षण गर्दै जैविक विविधताले धनि व्यास नगरपालिकाको गौरवको आयोजनाको रूपमा आज पूर्ण रूपमा ताल निर्माण भएको र अझै यस्को सौन्दर्यता बढाउन धेरै काम गर्नु बाँकि रहेको बताए ।

उनले तालमा डुङ्गा सयर गर्दै भने ‘अब यस क्षेत्रमा पर्यटक आउँछन् , यस्ले व्यास नगरको सुन्दरतामा एउटा इँट्टा थपेको छ ।’ नगर प्रमुख न्यौपानेले नारेश्वर तालले तनहुँ भित्रिने पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय बासिन्दाको आम्दानी बढाउने तथा सिंचाईमा पनि टेवा पुऱ्याउने विश्वास व्यक्त गरे । ताल आसपास जलआधारित मनोरञ्जनका गतिविधि सञ्चालन गर्ने, पिकनिकस्थल निर्माण गर्ने तथा पर्यटकका लागि आवश्यक अन्य पूर्वाधार थप गर्दै जाने योजना रहेको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

ताल क्षेत्र व्यवस्थित हुँदै गएपछि स्थानीय होटल, रेस्टुरेन्ट, घरबास व्यवसाय तथा स्थानीय उत्पादनको बिक्री–वितरणमा समेत वृद्धि हुने अपेक्षा गरिएको नगर प्रमुख न्यौपानेले उल्लेख गरे । ताललाई केन्द्रमा राखेर स्थानीय परिकार, कृषि उत्पादन र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके दुम्सीचौरलाई आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना देखिएको छ। तालको अर्को महत्वपूर्ण पक्ष स्थानीय कृषि क्षेत्रका लागि सिँचाइ सुविधा उपलब्ध गराउनु हो। यसका लागि तालसँगै छुट्टै सिँचाइ ट्यांकीसमेत निर्माण गरिएको छ।

व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोखरेल तालमा सञ्चित पानी पम्प गरी आसपासका खेतबारीमा पुर्याउने व्यवस्था मिलाइने बताउँछन् । यसबाट वर्षाको पानीमा मात्र निर्भर रहनुपर्ने स्थानीय कृषकको बाध्यता कम हुने र नियमित सिँचाइका कारण कृषि उत्पादन बढ्ने अपेक्षा गरिएको छ। यसरी नारेश्वर ताल केवल पानी सञ्चय गर्ने संरचनामा सीमित नरही पर्यटन प्रवर्द्धन, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय आयआर्जनको माध्यम बन्ने लक्ष्यका साथ अघि बढाइएको छ। पर्यटनबाट आउने आम्दानीलाई स्थानीय उत्पादनसँग जोड्दै कृषि र पर्यटन दुवै क्षेत्रलाई चलायमान बनाउन सके दुम्सीचौरको यो ताल तनहुँको ग्रामीण पर्यटनको नयाँ पहिचान बन्न सक्ने देखिन्छ।

व्यास नगरपालिका–१० का पूर्व वडाध्यक्ष तुलसीराम सापकोटा ताल निर्माण भएपछि दुम्सीचौरको पर्यटकीय आकर्षण थपिएको बताए । यहाँ आउने पर्यटकलाई स्थानीय संस्कृति, रहनसहन र ग्रामीण जीवनशैलीसँग जोड्न सके तथा घरबास अर्थात् होमस्टे सुविधासमेत उपलब्ध गराइए यस क्षेत्रको अर्थतन्त्र कायापलट हुने सापकोटाको भनाई छ ।

पर्यटन विद् हरिसिङ गुरुङ यो ताल निर्माणले सिङ्गो तनहुँको पर्यटन प्रवर्धनमा देख्न लायक, हेर्न लायक र घुम्न लायक, एउटा छुट्टै पर्यटन गन्तव्य स्थलको रूपमा नारेश्वर ताललाई लिन सकिने बताउँछन् ।
















