प्रहार समाचार । काठमाडौं, ७ भदौ २०८३ आइतबार । : परिवर्तन सधैँ ठूला नारा र अभियानबाट मात्रै सुरु हुँदैन, कहिलेकाहीँ एउटा साइकलको पाङ्ग्राबाट पनि सुरु हुन्छ। यही सन्देशसहित पद्मकन्या क्याम्पसका विद्यार्थीहरू साइकललाई दैनिक आवतजावतको साधनसँगै स्वच्छ वातावरण र स्वस्थ जीवनशैलीको माध्यम बनाउन थालेका छन्। बढ्दो महँगी, इन्धन खर्च र वातावरणीय प्रदूषणका बीच विद्यार्थीहरूको साइकल रोजाइ व्यवहारिक मात्र नभई सामाजिक र वातावरणीय दृष्टिले समेत अर्थपूर्ण देखिएको छ।

पद्मकन्या क्याम्पस स्ववियु सभापति भूपेथ्वी ऐर (भूपि) ले विद्यार्थीहरूले साइकल प्रयोग गर्नु वातावरण संरक्षणतर्फको सानो तर प्रभावकारी कदम भएको बताएका छन्। उनका अनुसार साइकल केवल यात्रा गर्ने साधन नभई स्वच्छ वातावरणसँगै स्वच्छ भविष्य निर्माण गर्ने प्रयास हो। “परिवर्तन सधैँ ठूलो नाराबाट सुरु हुँदैन, कहिलेकाहीँ एउटा साइकलको पाङ्ग्राबाट पनि सुरु हुन सक्छ,” सभापति ऐरको भनाइ छ। उनले आजको सानो रोजाइले भोलिको सफा काठमाडौं निर्माणमा योगदान पुग्ने बताए।
स्ववियु सदस्य चेतना नहर्की पनि साइकल प्रयोगलाई विद्यार्थीको स्वास्थ्य, वातावरण र आर्थिक बचतसँग जोडेर हेर्नुपर्ने बताउँछिन्। उनका अनुसार छोटो दूरीका लागि साइकलको प्रयोगले इन्धन खर्च घटाउनुका साथै शारीरिक सक्रियता बढाउने र वायु प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुर्याउँछ। “साइकल चलाउनु भनेको केवल गन्तव्यसम्म पुग्नु होइन, स्वस्थ जीवन र स्वच्छ सहरतर्फ अघि बढ्नु पनि हो,” नहर्कीले जोड दिइन्।
पद्मकन्याका विद्यार्थीहरूको साइकल यात्रा त्यसैले एउटा व्यक्तिगत रोजाइमा सीमित छैन; यो काठमाडौंको बढ्दो प्रदूषण, महँगी र अस्वस्थ जीवनशैलीविरुद्धको मौन सन्देशसमेत बनेको छ। सडकमा गुड्ने प्रत्येक साइकलले इन्धनको खपत घटाउने मात्र होइन, स्वच्छ हावा र स्वस्थ पुस्ताको पक्षमा आवाज उठाइरहेको छ। “साइकल चलाऔँ, स्वस्थ जीवन बनाऔँ—आजको सानो यात्रा भोलिको स्वच्छ काठमाडौंका लागि।”















